लोक सेवा आयोगको छनोट प्रक्रियामा सुधार गर्नुपर्छ

पछिल्लो समय सरकारी सेवामा आकर्षण बढ्दो छ । मुलुकभरका जुनसुकै क्षेत्रमा पनि लोक सेवा परीक्षामा दरखास्त दिने उम्मेदवारको भीडले पनि यो पुष्टि गर्छ । मुलुक संघीयतामा गएसँगै केही वर्षभित्रै राज्यलाई थप २० देखि ३० हजार निजामती कर्मचारीहरुको आवश्यकता छ । त्यसैले पनि निजामती सेवामै भविश्य देख्ने युवाहरुका लागि यो अत्यन्तै सुनौला अवसर पनि हो । सोही कुरालाई मध्यनजर गर्दै सरकारी सेवाको आकर्षण, लोक सेवा परीक्षा तथा यसमा सुधार गर्नुपर्ने पक्षलगायत विषयमा परीक्षार्थिहरुले आदर्श व्यक्तित्वका रुपमा लिने ज्ञाता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।
नेपालमा लोक सेवा परीक्षातर्फ युवाहरूको आकर्षण बढ्दो देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?
नेपालमा लोक सेवा आयोग एउटा विश्वासिलो संस्थाको रूपमा रहेको छ । सक्षम मान्छेहरूको लागि लोक सेवा आयोग सरकारी सेवामा प्रवेश गर्न एउटा निर्विकल्प माध्यम बनेको छ । सर्वसाधारणको छोराछोरीले कसैलाई भनसुन गर्नुपर्दैन भन्नेमा लोक सेवा आयोग विगतदेखि स्थापित छ । यो संवैधानिक मान्यता प्राप्त निकाय पनि हो । त्यसैले पनि लोक सेवा आयोगप्रतिको विश्वास नेपालमा अत्याधिक छ ।
खास गरेर मिडिल लेबलको परिवारको मान्छेहरू, एजुकेसनमा पनि मिडियम लेबलको एजुकेसन प्राप्त गरेका मान्छेहरू, असाध्यै कम्पिटेन्ट हाइलेबलका पनि यहाँ आउँदैनन् र असाध्यै लो लेबलको त झन् आउनै सक्दैनन् । त्यसकारणले बिचकाहरू विशेष गरेर सेकेन्ड डिभिजनका मान्छेहरूले लोकसेवामा फर्म भर्ने हो भन्ने थियो । आजभोलि त फस्ट डिभिजन ल्याउन पनि सजिलो छ । त्यसकारणले फस्ट डिभिजनका पनि आए । निजामती सेवा भनेको बृहत सेवा हो । देशभित्रै पनि सबै जिल्लामा गएर जहाँ पनि काम गर्न पाइने अवसर भएको स्थायी सेवा हो यो ।
के त्यस्ता कारण छन्, जसले आकर्षण निरन्तर बढाईरहेको छ ? 
५८ वर्ष नपुगेसम्म जागिर खान पाइने कसैले नहटाउने असाध्यै सुरक्षा भएको सेवा हो । अलिकति राम्रो गर्छु भन्नेलाई करियर डेभलपमेन्टको अवसर छ । देश विदेश घुम्न जान पाउने अवसर छ । अझ परराष्ट्र सेवामै जागिर भयो भने अझ बढी अपरच्युनिटी होला । त्यसले गर्दा यो एट्रयाक्टिभ नै हो ।
तलब सुविधाहरू प्राइभेट सेक्टर तथा अरु संस्थाको भन्दा केही कम छ । तर, निरन्तर छ । त्यो तलब सुविधा कहीँबाट हड्पिने, कहीँबाट नपाइएला कि भन्ने कहीँ डर छैन । अर्को सोसल सेक्युरिटी छ । जागिर छोडेपछि पनि पेन्सन पाइन्छ । कर्मचारीको मृत्युपछि परिवारलेसम्म पनि पेन्सन पाउने सुन्दर किसिमको सेवा छ यो । वास्तवमा यो सहज किसिमको सेवा हो । धेरै जटिलताहरु छैनन् निजामती सेवामा । खाली अलिकति राम्रो काम गर्ने, अलिकति क्रिएटिभ भएको, अलिकति डेडिकेटेड भएर जनसेवा गर्छु भन्नेका लागि यसमा अवसर छ । त्यसैले यसप्रतिको क्रेज बढेको हो ।
अहिले पनि सेक्सन अफिसर लेवलमा हेर्ने हो भने करिव ३० हजार मान्छेले प्रतिस्पर्धा गरिरहेका छन्, प्रत्येक वर्ष । त्यसमध्ये पहिलो प्रारम्भिक परीक्षामा नै करिव–करिव पाँच हजारदेखि ६ हजार उत्तीर्ण हुन्छन् । अरु सिटको आधारमा हुने हो । अहिले पछिल्लो समयमा सबै सेवा समूह गरेर करिव–करिव पाँच सय जति सिटहरू खुल्ने गरेको छ । त्यो पाँच सय जना अधिकृतहरू प्रत्येक वर्ष सिफारिस हुने गरेका छन् । अझ त्योभन्दा तल्लो सिटहरूमा प्रतिष्पर्धा पनि बढी छ, सिट संख्या पनि बढी छ । त्यसैले पनि लोक सेवा परीक्षामा क्रेज बढेको छ ।
लोक सेवा आयोगको जाँचमा विषयगत प्रश्नमा अधिकतम अंक पछिल्लो अवस्थामा के छ ? सय पूर्णांकको परीक्षामा अधिकतम कति अंक प्रदान गरिन्छ ?
विषयगत परीक्षामा अहिले बढीमा ७० अंक प्रदान गरिन्छ । ७० अंकभन्दा बढी पनि दिन सकिन्छ तर यसका लागि कारण खोल्नुपर्छ । एकदमै बढी ट्यालेन्ट छ भने त्योभन्दा बढी पनि आउन सक्ने हुन्छ ।
लोक सेवा आयोगका प्रश्नहरूले परीक्षार्थीहरूका के–के गुणको एनलाइसिस गरिन्छ ? अर्थात उत्कृष्ट हुनका लागि लेखनमा के–के कुरा समेटिन जरुरी छ ?
पहिलो कुरा त म लेखनमा आइटी भन्ने गर्छु । इन्फरमेसन प्लस टेक्निक चाहिन्छ । पहिलो त परीक्षार्थीसँग सम्बन्धित विषयको कतिको टेक्निक छ भनेर चेक गरिन्छ । विषयबस्तुको ज्ञान छ कि छैन, जस्तैः सुशासन भनेको के हो ? त्यसको विनियम के हो ? त्यसको कन्सेप्ट के हो ? त्यो कन्सेप्ट अनुसार नेपालमा त्यसलाई कसरी उपयोग गरिएको छ भनेर हेर्ने एनलाइसिस गर्ने क्षमता टेस्ट गरिन्छ ।
अर्को हो, लेखाइमा टेक्निक । यसमा प्रश्नको नम्बर अनुसार लेखाई हुनुपर्छ । १० नम्बरको प्रश्न छ भने कति मिनेट लेख्ने ? बीचमा जोडिएका प्रश्न भए कति समय दिने यसमा विचार गर्नुपर्छ, जस्तो ६ प्लस ४ भनिएको छ भने ६ नम्बरको प्रश्नलाई कति समय दिने र ४ नम्बरकोलाई कति दिने यसमा विचार गर्नुपर्छ । टाइम अनुसारको लेखाई हुनुपर्छ । कतिले ४ अंकको प्रश्नमा धेरै र ६ अंककोमा थोरै उत्तर लेख्ने गर्छन् । यसले लेखाइको टेक्निक बिगार्छ । लोक सेवा परीक्षामा लेखाइको टेक्निक आवश्यक पर्छ । अर्काे कुरा, लेख्दा लामो प्याराग्राफ लेख्यो भने पनि एट्रयाक्टिभ देखिँदैन ।
परीक्षार्थीमा विश्लेषण गर्ने क्षमता पनि हुनुपर्छ । कुनै समस्यालाई समाधान गर्न सक्ने क्षमता कस्तो छ । कतिपय समस्यामूलक प्रश्नहरू आउँछन्, जस्तैः नेपालमा संगठित अपराध नियन्त्रणको लागि के गर्नु पर्ला ? यो प्रश्नमा समस्या र सुझाव मागिएको छ । तसर्थ, यसमा तर्क प्रस्तुत गर्नुपर्ने, ठिक–बेठिक छुट्याउनुपर्नेलगायत गर्नुपर्छ ।
अर्को, कतिपय प्रश्नहरू ओपन किसिमका हुन्छन् । धेरै लेख्न सकिने किसिमका नेपालको विपद् व्यवस्थापनबारे चर्चा गर्दै भन्यो भने धेरै लेख्न सकिन्छ । तर, कतिपय एकदमै क्लोज किसिमको प्रश्नहरू हुन्छन् । नेपालको विकास प्रक्रिया नै ठिक छैन भन्ने भनाई छ, तपाईँको धारणा के छ ? एकदमै क्लोज भयो नि त्यहाँनिर । त्यसैले ओपन र क्लोज किसिमका प्रश्नहरूमा कसरी लेख्नेबारे टेक्निक हुन्छ । त्यसलाई फलो गर्नुपर्छ ।
पछिल्लो संघीय निजामती सेवा ऐन सम्बन्धी कतिपय व्यवस्थाहरुबारे सामाजिक सञ्जालमा आलोचना हुने गरेको र यसप्रति युवाहरूको लगाव घट्न सक्ने तर्क पनि आउने गरेको छ, यसमा तपाईँको धारणा के छ ?
अहिले संघीय निजामती सेवा ऐनको ड्राफ्ट तयार भइरहेको छ । यो फाइनल हुनलाई धेरै स्टेपहरू छन् । यद्यपि, अहिलेसम्मको ड्राफ्ट भएको विषयमा यहाँले भनेजस्तो केही टीकाटिप्पणीहरू पक्कै पनि छन् । एउटा टीकाटिप्पणी खुला प्रतिस्पर्धा माथिल्लो तहमा हट्यो । त्यसले गर्दा समावशी हुँदैन भन्ने धारणा छ । यो पनि ठिकै हो । तर, कहिलेकाहीँ समावेशीकरणलाई पनि एब्सल्युट रूपबाट हेर्नु हुँदैन । एउटा निश्चित तहमा आइसकेपछि यो पछाडि परेको पनि भन्न नमिल्ला । अरुसँग पनि कम्पिटिसन गर्नुपर्ने हुन्छ ।
सधंै समावेशी लाभ मात्रै प्राप्त गर्न खोज्यो भने कम्पिटेन्सी कमजोर हुन्छ । त्यसैले गर्दा त्यो व्यवस्था राखेको हुन सक्छ, एउटा कुरा अर्को कर्मचारीहरूलाई प्रदेश स्थानीय तहमा खटाइसकेपछि उसको करियर के हुने क्लियर छैन भन्ने कुरा पनि आएको छ । त्यो विषयलाई क्लियर पार्न यसमा केही संशोधनका कुराहरू छन् ।
प्रदेश स्थानीय तहमा काम गरेको कर्मचारीलाई फेरि केन्द्रमा आउन पाउने किसिमबाट केही प्रतिशत सिट छुट्याउने गरेर अहिले अर्को संशोधन पनि फेरि हुँदै गइरहेको छ । यसले केही हदसम्म क्लियर गर्ला, अवकास उमेर ६० वर्ष बनाउने कुराको हल्ला पनि छ त्यसमा युवाहरूलाई यसले खासमा फ्रस्टेट बनाउँछ । हामीले अहिलेसम्म तयार गरेको ड्राफ्टमा ५८ वर्ष नै छ । अर्थ मन्त्रालयले दिएको सुझावमा ६० वर्ष छ । त्यसैको बारेमा टिप्पणी भएको हो । युवाहरुले यसमा टिप्पणी गर्नु स्वभाविक हो भन्ने ठान्छु म । उमेर बढ्दैमा राम्रो सेवा दिने भन्ने हुँदैन ।
युवाहरुलाई अवसर दिनुपर्छ । धेरै देशहरूले युवाहरूलाई अवसर दिन्छन् । त्यसैले त्यसमा रिथिङ्क गर्नुपर्छ होला । यो त फेरि फरक प्रोसेस छ ।
ऐनमा ढिलाइ, खुला प्रतिष्पर्धा हटाउने, आन्तरिक प्रतियोगितासम्बन्धी विवाद, पेन्सन कुर्नुपर्ने हल्ला, योगदानमा आधारित पेन्सन प्रणाली आदि विषयमा मन्त्रालयको पछिल्लो धारणा के हो ?
अवकास उमेरको बारेमा मैले अघि नै प्रस्ट पारे । जहाँसम्म योगदानमा आधारित पेन्सनको कुरा छ संसारभरि नै राज्यले निरन्तर ढंगबाट सधै पेन्सन दिन सक्दो रहेनछ । धेरै बर्डन हुन्छ, त्यसैले कन्ट्रिब्युटरी फन्ट तयार गर्नुपर्छ र जागिर खाएको प्रत्येक मान्छेले महिनैपिच्छेको तलब लिँदा केही अंश त्यसमा कटौती गर्दै लग्यो भने पछि त्यही कन्ट्रिव्युटेड फन्डबाट नै पेन्सन प्राप्त हुन्छ र राज्यले छुट्टै खर्च गर्नु पर्दैन । अहिले पेन्सनको अंक धेरै नै बढीसकेको अवस्था छ । राज्यलाई धान्न धेरै गाह्रो भयो । त्यसैले यो राम्रो विषय हो । यो धेरै देशहरूले फलो गरेको विषय हो । त्यो अवलम्बन गर्दा ठिकै हुन्छ भन्ने मलाई लाग्छ ।
आन्तरिक प्रतियोगिताको लागि अहिले ३० प्रतिशत प्रस्ताव आएको छ । व्यक्तिगत रूपमा म २० प्रतिशतभन्दा बढी हुनुहुँदैन भन्ने ठान्छु । आन्तरिक प्रतिष्पर्धामा पनि ३० प्रतिशत राख्न जरुरी छैन । कर्मचारीलाई पढाउने होइन, काम लगाउने गर्नुपर्छ त्यसको लागि कार्यसम्पादनमा आधारित प्रमोसन सिस्टम नै सबैभन्दा राम्रो किसिमको व्यवस्था हो । त्यसमा ध्यान दिनुपर्छ होला ।
लोक सेवाको एउटै परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेकाहरूमध्ये कोही निजामती सेवाअन्तर्गत रहन्छन् त कोही निजामती बाहिर, यो कतिको न्यायोचित छ ? 
पहिला नै रोज्न पाइन्छ । जुन जुन सेवामा जान मन छ, त्यसैमा टिक लगाउने हो । त्यसैले कुनै पार्टीकुलर सेवा च्वाइस गर्न पनि पाइन्छ । सबैमा जानुपर्छ भन्ने छैन, एउटा परीक्षा पास गरेर । अरु कमन एउटा पेपर हुन्छ, दुइटा विषयगत पेपर फरक–फरक पनि हुन्छ । त्यसैले सेवा रोज्ने सिलसिलामा कहिलेकाहीँ एउटै जाँच दिँदा पनि कोही राजस्व र कोही प्रशासनमा पर्ने देखिएको छ । तर, त्यहाँ रोज्न पाइने व्यवस्था छ । अगाडि नाम निकाल्नेहरूले पहिलो प्राथमिकता पाउँछन् । मेरिटमा पछाडि पर्नेहरूले नरोजेको ठाउँमा पर्ने अवस्था हुन्छ । त्यो स्वभाविक हो । यो निजामती सेवा ऐनमा भएको व्यवस्था होइन । लोक सेवा आयोगको आफ्नो कार्यविधि छ । लोक सेवा आयोगको ऐन/नियमावलीमा संशोधन गर्नुपर्ने विषय हो । त्यसैले लोक सेवा आयोगले थिङ्क गर्ला यसमा ।
कतिपयले लामो समयसम्म लोक सेवाको तयारी गर्दा पनि उत्तीर्ण हुन नसकिरहेको अवस्था छ ? लोक सेवालाई धेरैले आलोचनात्मक रूपमा ‘लक सेवा’ अथवा भाग्यमा आधारित छ पनि भन्ने गर्छन्, यहाँलाई के लाग्छ ?
निजामती सेवाको लिमिटेसन छ । आकार सानो छ । रोजगारीको क्षेत्र धेरै बढाउनुपर्ने जरुरी छ । निजामती सेवा पूर्ण रोजगारीको क्षेत्र होइन । यो सरकारलाई केही कर्मचारी आवश्यक परेकाले लिएको मात्रै हो । जतिले एप्रोच गर्नुहुन्छ सबै सक्नुहुन्न ।
मेरो आफ्नो अनुभवमा के छ भने लोक सेवाको तयारी गरिरहेको मान्छे निजामती सेवामा मात्रै आउँदैन । लोक सेवा आयोगको कोर्स यस्तो किसिमको छ कि त्यसलाई अरु धेरै संस्थाहरूले धेरै क्षेत्रहरूले आधारको रूपमा लिएका छन् । राष्ट्र बैंकको होस्, अरु बैकको परीक्षा होस्, टेलिकम्युनिकेसनको होस्, नगर विकाससँग सम्बन्धित होस् अथवा विभिन्न संघ संस्थाहरूले लोकसेवा आयोगलाई बेस मानेर सिलेबस तयार गरेका छन् । मैले पनि लोक सेवा आयोगको तयारी कक्षाहरूमा जाने गर्छु । लोक सेवा आयोगको तयारी गरिरहेकाहरू कहिले राष्ट्र बैकमा नाम निकाल्छन्, कहिले प्रहरीमा नाम निकाल्छन्, कहिले सेनातिर जान्छन्, कोही बैंकतिर जान्छन् । एउटा प्लेटफर्म हो लोक सेवा भनेको । त्यसले धेरै एभिन्युजहरू क्रिएट गर्छ । अरु धेरै ठाउँमा पनि अवसरहरू पाइरहेका हुन्छन् ।
एउटातिर पढ्यो अर्कोतिर नाम निस्केको पनि हुन्छ । तर, यहाँले भनेको जस्तो सबैले अवसर पाउँदैनन् । सबैले अवसर नपाउँदा फ्रस्टेसन पनि हुन्छ । फ्रस्टेसन भएको मान्छेले यो त ‘लक सेवा’ रहेछ भन्ने भएको हुन सक्छ ।
अर्को परीक्षा प्रणालीमा अवजेक्टिभ प्रश्नहरू हुँदैनन्, सब्जेक्टिभ मात्र हुन्छन् । कपी जाँच्ने मान्छेहरू फरक–फरक पृष्ठभूमिबाट आएका हुन सक्छन् । त्यसैले १० प्रतिशत त लक हुन्छ जेमा पनि, ९० प्रतिशत आफ्नो कर्ममा नै भर पर्छ होला ।
शीघ्र सफलताका लागि परीक्षार्थीहरूलाई के सुझाव दिनुहुन्छ ?
सबैभन्दा पहिला लोक सेवा आयोगको बारेमा बुझ्नुपर्छ । यसको सिलेबस बुझ्नुपर्छ । कलेज र लोक सेवा आयोगको पढाइ फरक छ । कलेजमा १० प्रश्न दिएर पाँच हल गर भनेको हुन्छ । त्यसैले विद्यार्थीलाई च्वाइस गरेर पढ्ने अवसर हुन्छ । तर, लोक सेवा आयोगमा सबै प्रश्नको उत्तर जान्नुपर्ने हुन्छ । सानो भनेर कुनै विषयलाई हेर्नु हुँदैन । सबैलाई इक्वाइल भ्यालु दिनुपर्छ । जस्तोसुकै सानो टपिकबाट पनि प्रश्न सोध्न सक्छ । त्यसमा ध्यान दिनुपर्छ ।
अर्को लोकसेवा आयोगमा लेख्ने टाइमको लिमिटेसन हुन्छ । थोरै समयमा धेरै र महत्वपूर्ण कुरा लेख्नुपर्ने हुन्छ । महत्वपूर्ण कुरालाई नदोहोर्याउने र नछुटाउने दुइटै तरिका अवलम्बन गर्नुपर्ने आवश्यकता रहन्छ । अलिकति कन्सेप्टेबल कुराहरू बुझ्ने र कन्सेप्ट बुझेपछि नेपालसँग कम्पियर गरेर लेख्ने परीक्षार्थी पास हुन्छन् । लेख्ने स्टाइलहरू नहुँदाखेरी समस्या हुन्छ । त्यो बुझिसकेपछि सजिलो छ ।
पछिल्लो समयमा परीक्षाको स्तर बढेको हो वा परिक्षार्थीको स्तर घटेको हो ?
परीक्षार्थी स्तर घटेको छैन, बरु बढेको छ । लोक सेवा आयोगमा के हुन्छ भने सुरुमा जब कोर्स डिजाइन हुन्छ सुरुका वर्षमा सजिलो प्रश्न आइरहेको हुन्छ । जति त्यही कोर्स रहीरहन्छ पछि त्यो कम्प्लिकेटेड हुँदै जान्छ । किनभन्दा यो प्रश्न अघिल्लो वर्ष नै आइसकेको छ भन्ने हुन्छ । अनि अलि अप्ठ्यारो । लोक सेवाको क्वेसन्स बैकमा पनि प्रतिस्पर्धा हुन्छ । मैले बनाएको क्वेसन्स अलिकति बलियो हुन्छ कि भन्ने पनि कसै कसैलाई लाग्छ । बजारमा आएका प्रश्नभन्दा फरक बनाउने होड पनि चल्छ । त्यसले गर्दा लोक सेवा आयोगका प्रश्नहरू अलिकति कम्प्लिकेटेड हुँदै गइराखेको हो जस्तो लाग्छ ।
विगतमा सहसचिवलाई सोध्ने लेबलको प्रश्न अहिले अफिसरलाई नै सोध्ने गरिएको छ । यस्तै, अफिसरलाई सोधिने प्रश्न खरिदारलाई नै सोध्ने गरिएको छ । यहाँ त खरिदारको उम्मेदवार पनि डिग्री पास गरेको छ । लोक सेवा आयोगले त्यो हेरेको पनि हुन सक्छ । अहिले योग्यता बढिरहेको छ, त्यसैले प्रश्न पनि योग्य नै दिउँ भन्ने हुन सक्छ । तर, जुन लेबलको परीक्षा दिनुपर्ने हो । त्यहि लेबलको प्रश्न भए राम्रो हुन्छ । त्यस्तो गर्दा लोक सेवा आयोगलाई समस्या छ । एसएलसी गर्दा खरिदार भइन्छ । एसएलसी लेबलको सय प्रश्न दियो भने सय ओटै मिलाइदिन्छन् । अनि परीक्षार्थीको टेस्ट कसरी गर्ने ? त्यसले गर्दा लोक सेवालाई अलिकति कम्प्लिकेटेड प्रश्न बनाउनुपर्ने बाध्यता छ ।
विषयगतभन्दा पनि सामान्य ज्ञानको वस्तुगत प्रश्नमा परीक्षार्थीहरू कस्तो सोधिन्छ भन्नेमा अस्पष्ट हुने र यसको दायरा अथाह भएको हुँदा खासमा कसरी तयारी गर्दा सफलता पाउने सम्भावना बढी रहन्छ ? 
जिकेमा रिसेन्ट घटनाक्रमहरूलाई ध्यान दिनुपर्ने हुन्छ । विश्वमा भइराखेको राजनीतिक, आर्थिक, सामाजिक पक्षहरू, वैज्ञानिक, खेलकुदसँग सम्बन्धित धेरै विषयवस्तु जान्नुपर्छ । नियमित रूपले सबै पत्रिका पढ्न भ्याइदैन । तर, केही एक–दुई ओटा पत्रिकाहरू नियमितरूपमा पढ्ने गर्नुपर्छ । पत्रिका पढ्यो त्यसलाई फालिदियो भने त केही काम छैन । त्यहाँ भएका महत्वपूर्ण इभेन्टहरू टिपोट गर्ने आजभोलि यति धेरै एक्सेस छ । अनलाइनहरूमा आइरहेको हुन्छ । त्यसका कुराहरु टिपोर्ट गरेरराख्ने । गुगलमा पाइन्छ, विकिपिडियामा आइरहेको हुन्छ । त्यहाँ भएका कुराहरू टिपोट गरेर राख्ने । धेरै लामो डकु्मेन्टहरू हेरिराख्नु पर्दैन । जस्तो डाटाहरु मात्र राखे पनि पुग्छ । एउटा नोट बनाउने । एउटै नोटमा हजारौ हजार कुराहरू समावेश गर्न सकिन्छ । सुतिसुति हेर्न सकिन्छ । हिँड्दाहिँड्दै हेर्न सकिन्छ ।
पछिल्लो समयमा बजारमा छ्यापछ्याप्ती भेटिने पुस्तकहरूले पनि विद्यार्थीहरुमा एक किसिमको अन्योलता सिर्जना गरेको देखिन्छ ? पुस्तक छनोटमा परिक्षार्थीहरुलाई यहाँको सुझाव के छ ?
सबै विषयलाई कभर गरेको पाठ्यपुस्तक लिनुपर्ने हुन्छ । नाम चलेको लेखकहरूको पुस्तक किन्नुपर्छ । विगतदेखि किताव लेखेका मान्छेको बढी रिलाइबल हुन सक्छ । कहिलेकाहीँ कितावमा भएका तथ्यांकको सोर्स पनि हेर्नुपर्ने हुन्छ । गलत किसिमको डेटाहरू दिइराखेको पाइयो भने त्यसको मूल सोर्सबाट भेरीफाई गर्नुपर्छ । राम्रो/नराम्रो त्यसबाट छुट्याउन सकिन्छ । त्यसैले किताब किन्दाखेरि अलि विचार पु¥याउनुपर्छ ।
तपाईँलाई परीक्षार्थीहरूले आदर्शको रूपमा नै लिने गरेका छन्, देशमा संघीयतासम्बन्धी नयाँ व्यवस्था लागू भएको र कर्मचारीप्रति चुनौती पनि छ भन्ने कुराहरु पेचिलो बन्दै गइरहेको वर्तमान परिस्थितिमा सरकारी सेवामै भविश्य खोज्नेहरूका लागि यहाँको के सुझाव छ ?
यो बेला भनेको असाध्यै अवसर भएको समय हो । किनकि नेपालको निजामती सेवाको आकार बढ्दै छ । हिजो ८६ हजार रहेको निजामती सेवा अब एक लाख २३ हजार जति हुँदैछ । त्यसैले निजामती सेवामा अब २० देखि २५ हजार कर्मचारीहरू नयाँ भर्ना हुन्छन् । यो तीन वर्षभित्रमा २५ हजार कर्मचारी भर्ना गर्नैपर्छ । अहिले स्थानीय तह तथा प्रदेशमा धेरै कर्मचारीको खाँचो छ । तर, म देशको जुनसुकै भूगोलमा गएर काम गर्न तयार छु भन्ने मानसिकता बोकेर काम गर्नुपर्याे ।
अब काठमाडौं केन्द्रित मानसिकता बोकेर निजामती सेवामा नआउनुहोस् भन्ने आग्रह गर्न चाहन्छु । अब धेरै कर्मचारीहरूको माग हुने सम्भावना रहेको हुनाले तपाईँहरूले राम्रो तयारी गर्नुहोस् । अवश्य सफलता मिल्छ । निजामती सेवा बाहेकका अन्य क्षेत्रहरू पनि छन् । ति क्षेत्रहरूमा पनि अवसरहरू धेरै बढ्दै गइरहेको अवस्था छ ।
नेपालमा लोक सेवा आयोगको पछिल्लो उम्मेदवार चयन प्रक्रिया र विश्व परिवेशको सन्दर्भमा के–कस्तो अन्तर छ ? विद्यमान प्रणालीमा के थपघट गर्दा अझ उपयुक्त, राम्रा अर्थात हामीले खोजेका आचरणयुक्त कर्मचारी भेटाउन सक्छौं जस्तो लाग्छ ?
यो एकदमै गाह्रो विषय हो । नेपालको लोक सेवा आयोग र अरु देशको छनोट प्रक्रियामा कम्पियर त गर्न सकिन्छ । तर, देशको अवस्था अनुसार पनि फरक हुन्छ । जस्तो बेलायतमा गृह मन्त्रालयलाई कर्मचारी चाहियो भने उसले आफै पनि भर्ना गर्न सक्छ । लोक सेवा आयोगलाई पनि भन्न सक्छ । हाम्रोमा आफ्नै निकायले छनोट गर्ने अवस्था बनिसकेको छैन । त्यसो भयो भने फेयर हुँदैन । त्यसैले हामीले अहिले लोक सेवा आयोग जिन्दावाद नै भन्नुपर्ने हुन्छ ।
लोक सेवा आयोगले जे गरिरहेको छ, राम्रै गरिरहेको छ । अब लोक सेवा आयोगको छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । किनभने लोक सेवा आयोगले सिलेबस नै बनाउँदा पनि भोलि गएर त्यो जब रिलेटेड हो कि होइन, त्यो विषय पढेको मान्छेले राम्रो काम गर्न सक्छ कि सक्दैन भनेर । जस्तोः अफिसरमा एप्टिच्युट टेस्ट भन्ने छ, एउटा धर्कोसँग अर्को धर्को मिलेको छ की छैन भन्ने । निजामती सेवाको अफिसर भएपछि कहाँनिर काम लाग्छ त्यो । मैले अहिलेसम्म बुझेको छैन । जब त्यो विषय काम लाग्दैन भने त्यसको टेस्ट गरिराख्नु पर्ने के जरुरी छ ।
देशको भूगोल, इतिहास, संस्कृति, खेलकुदको बारेमा जानुन्, अलिकति विश्वको अवस्थाको बारेमा बुझुन् । सामान्य ज्ञानमा पनि त्यो कुरा हुन्छ । अर्को देशको गर्भमेन्स सिस्टमको बारेमा बुझुन् । ब्युरोक्रेसी भनेको के हो ? त्यसको बारेमा बुझुन् । कर्मचारीले काम गर्दा के कुरामा ध्यान दिनुपर्छ ? सेवा प्रवाह कसरी गर्ने विकास व्यवस्थापन कसरी गर्ने यस्तो प्राक्टिकल कुराहरू सिकाउनुपर्छ । भोलि त्यो सेवामा जाँदाखेरी टिप्पणी कसरी लेख्ने ? प्रतिवेदन कसरी लेख्ने ? क्याविनेटमा प्रतिवेदन पठाउनु पर्छ । कसरी लेख्ने ? हाम्रो कति अफिसरहरूलाई अहिले पास गरेकाहरूलाई यो विषयमा मन्त्रिपरिषद्लाई प्रस्ताव लेख भन्दा लेख्दै आउँदैन । उनीहरू पास गरेर त आएका हुन् । तर, प्राक्टिकल किसिमको कोर्स छैन । अहिले नै हेर्ने हो भने धेरै किसिमका विषयवस्तुहरु राखिदिएको छ, जुन आवश्यक छैनन् ।
त्यसै कारणले निजामती सेवामा सम्बन्धित पदमा गएर उसले जे काम गर्नुपर्ने हो त्यसैसँग रिलेटेड कोर्स डिजाइन गर्नुपर्छ, लोक सेवा आयोगले । लोकसेवा आयोगले परीक्षालाई पनि हेर्ने गर्छ । प्रश्न झिक्ने सिलसिलामा होस् अथवा कापी जाँच्ने । जस्तोः उपसचिव पदको कापी सहसचिवलाई जाँच्न दिइराखेको हुन्छ । सबै सहसचिव पढेर अपडेट छैनन् नि । सबैले बुझिराखेका छैनन् नि । सहसचिव भन्दैमा उ जान्ने छैन नि । त्यसैले पोजिसन होइन । उसँग कति कम्पिटेन्सी छ भन्ने आधारमा कापी जाँच्न दिनुपर्यो । नत्र अन्याय हुन्छ परीक्षार्थीहरूलाई । यद्यपि, रोस्टर हेर्छ, उसको अनुभव हेर्छ । त्यो गरेको छ । तर पोजिसन पनि गरिराख्नुको अर्थ त्यो त्यति राम्रो होइन । त्यस्तो पक्षमा सुधार गर्नुपर्ने हुन्छ ।
बाहिरका एक्सपोर्ट ल्याउँदा पनि उसको पृष्ठभूमि, व्यवहारलगायत पक्षबारे ध्यान दिएर एक्सपोर्ट छनोट गर्नुपर्छ इन्टरभ्युमा । त्यो सुधार गर्नुपर्ने हुन्छ । अर्को मार्किङको सिलसिलामा पनि ३० भन्दा कम ६० भन्दा बढी दिन नपाइने भनिराखेको हुन्छ । यो बिचको बाटो अवलम्वन गरिराखेको हुन्छ । एक्स्ट्रा अडिनरी छ भने बढी अंक पनि दिनुपर्यो नि । त्यस्ता पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ । आजभोलि विश्वमा एसएसमेन्ट सेन्ट्रल मेथोडोलोजी भनिएको छ । त्यसले मान्छेको समग्र व्यवहारको टेस्ट गर्छ । जस्तोः मैले इन्टरभ्यु दिए भने विगतमा मेरो कामको पर्फमेन्स, कारवाही, पुरस्कारलगायतको टेस्ट हुन्छ । तर, हाम्रोमा त्यो सिस्टम छैन ।

No comments

Powered by Blogger.