अनुभवः लोकसेवाको जाँचमा कसरी सफल हुने ?

वि.सं. ०५३ सालदेखि ०७३ सालका बीचमा मैले नासु, अधिकृत, उपसचिव र सहसचिव पदको लोकसेवा आयोगद्वारा लिइएका परीक्षाहरूमा निरन्तर सहभागी भई सफल हुँदै आउँदा मैले अनुभव गरेका कुराहरू सम्बन्धित परीक्षाका उमेदवारहरूका लागि उपयोगी हुन सक्छन् भन्ने ठानेर आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्दछ भन्ने जिम्मेवारीबोधका साथ आफ्नो अनुभवलाई यहाँ पस्कने जमर्को गरेको छु ।
प्रतिस्पर्धात्मक परीक्षा भनेको उत्तीर्णाङ्क ल्याएर मात्र सफल हुन सकिन्न । सफल हुनका लागि उत्तीर्णाङ्कका साथसाथै अन्य प्रतिस्पर्धाहरू भन्दा बढी अङ्ग ल्याउनु पर्दछ । यसको अर्थ हरेक वर्ष एउटै तहको प्राप्ताङ्कले उम्मेदवारहरू सफल भैरहेका हुँदैनन । कुनै वर्ष प्रतिस्पर्धीहरूको औसत अङ्क कम भएको अवस्था रहेछ भने अलि कम अङ्कमा पनि पास भइन्छ भने कतिपय अवस्थामा उपल्लो अङ्क ल्याएर पनि पास नहुन सकिन्छ ।
हरेक व्यक्तिको आफ्नो आफ्नो तहको ज्ञान हुन्छ र त्यही तहको ज्ञानलाई उसले आफ्नो सत्य ठानेको हुन्छ । सत्य भन्ने कुरा परिवर्तन भैरहने कुरा हो जस्तो मलाई लाग्दछ । हिजो देखेजाने र बुझेका कुराहरू आज असत्य सावित भैरहेका छन भने आजका सत्यहरू भोली अझ खोतलिन सक्नेछन् । मेरो तहको सत्य अरूका लागि त्यहि तहको नहुन सक्दछ । आफूले जुन तहको जानकारी राखेको हुन्छ त्यहीस्तरसम्मको ज्ञानलाई उसले सत्य मानेको हुन्छ । लोकसेवा आयोगको जतिपनि परीक्षामा मैले सहभागी भएँ र सफल हुँदै आएँ त्यसबाट प्राप्त गरेको ज्ञान मेरालागि सत्य हुन जुन यहाँ उल्लेख गरेको छु । यस ज्ञान सामग्रीलाई यहितहमा रहेर पाठकहरूले वुझिदिनुहुनेछ भन्ने अनुरोध पनि गर्दछु ।
१. परीक्षाकोतयारीको क्रममा मनमा उठ्ने विविध प्रश्नहरूको विश्लेषण
प्रायजसो उम्मेदवारहरू पहिलो प्रयासमै पास हुनसक्ने सम्भावना ज्यादै न्यून रहन्छ । उसले प्रतिष्पर्धाको तौरतरिका र त्यसको संरचना मिहिन तरिकाले बुझेको नहुने कारणले पनि दिग्गज उम्मेदवारहरू पनि पहिलो परीक्षामा सफल हुन सक्दैनन् । औपचारिक शिक्षामा अत्यन्त अव्बल ठहरिएका विद्यार्थीहरू पनि प्रतिस्पर्धात्मक परीक्षाहरूमा असफल भैरहेका हुन्छन् । स्कुल क्याम्पसमा र दैनिक उठबस साथीसँगी सँगको व्यवहारमा सामान्य क्षमतामा दरिएका विद्यार्थीहरू पनि सहजै सफल भैरहेका हुन्छन । यस्ता घटनाहरूले विद्यार्थीहरूको मनमा अनेक प्रश्नहरू उब्जिने गर्दछन् । उनीहरू विभिन्न तर्कना गर्दछन् । परीक्षा प्रणालीमै दोष पो छ कि भन्ने सम्मका लख् काटने गर्दछन् । यस्ता उम्मेदवारहरूलाई सामान्यतया निम्नानुसारका मनोभावनाहरू सृजना हुन्छन कतिपय उनीहरूले व्यक्त पनि गर्दछन्, गरेको हामीले सुनेका देखेका पनि छौं । लोकसेवा आयोग वा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूका लागि उपयोगी होस भन्ने उद्देश्यले मैले यो सामग्री तयार गरेको छु ।
  • सँगै पढेको उसको / अरूको नाम निस्कियो मेरो निस्किएन किन?
  • जाँचमा एउटै कुरा लेखेको । उसको निस्कियो मेरो निस्किएन किन?
  • त्यो किताबमा भएको जस्तै, त्यो प्रतिवेदनमा भएको जस्तै, त्यो सरले भनेको जस्तै, ठ्याक्कै लेखेको थिएँ । मेरो निस्किएन किन?
  • उसलाई खासै आउँदैन थियो हौ । उसले खासै पढेको पनि थिएन । कसरी नाम निस्कियो?
  • मैले सबै गरेको हो । यसपालि आशा पनि गरेको थिएँ । राम्रै भएको थियो। यसपटक त म विश्वस्त थिएँ । निस्किएन किन ?
  • पोहोर को भन्दा यसपालि मैले स्टाइल चेन्ज गरेको थिएँ र पनि आएन किन?
  • एउटा प्रश्न मेरो अलिकति उल्टो भएको थियो । एउटा प्रश्न अलिकति भ्याएको थिइन ।
  • समय नै पुग्दैन हौ जाँचमा । प्रश्न नै लामा लामा सोध्छ?
  • मेरा अक्षर नै राम्रा नभएर । अन्तिम तिर गए पछि मेरा अक्षर नराम्रा भएर हो कि?
एकपटक लिखित परीक्षामा सहभागि भैसकेका तर सफल हुन नसकेका विद्यार्थीहरूमा यस्ता अनगिन्ती प्रश्नहरू मनमा उब्जन्छन् । वास्तवमा, लोकसेवा आयोगको तयारीको क्रममा वजारमा पाइने पुस्तकहरू सबैजसो खरिदगरी साथीसँगीहरू सँग छलफल गरी तयारी कक्षाहरूमा पनि सहभागी भै तयारी गरिएको हुन्छ । सकेसम्मका सूचना, जानकारी, प्रतिवेदनहरू, वेबसाइटहरू, विभिन्न लेखरचनाहरू, अन्तर्वार्ताहरू देखि लिएर पुराना प्रश्नहरूको हल समेत अध्ययन गरिएको हुन्छ । तर पनि अपेक्षा गरे जस्तो नतिजा नआउँदा उम्मेदवारहरू निरास हुन जान्छन् । उनीहरूले यो प्रतिष्पर्धा हो र यसमा मैले अझै निखार ल्याउन वाँकी छ भन्ने महसुस गर्नुभन्दा पनि अरू सफल भएका उम्मेदवारहरूको क्षमता र सीपमा संका गरी आफूलाई विभिन्न प्रश्नहरूको भुमरीमा पारिरहेका हुन्छन । ति उम्मेदवारहरूका लागि सानै भए पनि यो आलेखले मद्दत पुगोस् भन्ने अभिप्राय राखेको छु ।
माथिका प्रश्नहरूमा एकपटक ध्यान केन्द्रित गरेर हेरौँ त । हामीले अधिकांश समय र श्रम विषयवस्तुको ज्ञान बढाउन, त्यसको श्रोतमै पुगेर त्यसको ज्ञान लिन खर्चेका हुन्छौँ । तर वास्तवमा विश्वविद्यालयमा हुने परीक्षा भन्दा अलिक भिन्न प्रकारले लोकसेवा आयोगले लिने प्रतिस्पर्धात्मक परीक्षामा ज्ञानको भण्डार मात्रले सफलता हात पर्न सामान्यतया गाह्रो पर्ने हुन्छ । यसमा त्यसका अतिरिक्त प्रस्तुतीकरणका सीपहरू, समयको पालना आदिले प्रभाव पार्ने गर्दछ ।
विश्वविद्यालयमा सम्बन्धित विषयमा ज्ञान हासिल गरिसकेका विद्वान उम्मेदवारहरू मध्ये तिनिहरूको सीप र कौशलताको परीक्षा मार्फत सफल बनाउनका लागि यस्ता परीक्षाहरू सञ्चालन गरिने भएकोले यहाँ ज्ञानको भण्डार मात्र पूर्ण नहुन सक्दछ त्यसैले त विश्वविद्यालयका प्राप्ताङ्कलाई मात्र आधार मानेरै उम्मेदवारहरू चयन नगरी यहाँ पुन विभिन्न किसिममा क्षमता परीक्षाहरू सञ्चालन गरिन्छन् ।
विश्वविद्यालयमा सम्बन्धित विषयको ज्ञान लिइसकेको भएकोले उम्मेदवारलाई यहाँ ज्ञानको मात्र परीक्षा लिइन्न । यसका अतिरिक्त यहाँ उसले सेवामा रहँदा गर्नुपर्ने आचरण, व्यवहार र प्रस्तुतीकरणका परीक्षाहरू पनि लिइन्छन् । अर्थात यहाँ ज्ञानको भण्डारको अतिरिक्त उ सँग हुनुपर्ने व्यवहारिक शिक्षा, तत्परता, अनुशासन, जिम्मेवारीपन, सकारात्मकता, आशावादिता जस्ता भावहरू रहे नरहेको पनि परीक्षा हुन्छ । विद्यार्थीहरूले पनि परीक्षाको तयारी गर्दा लोकसेवा आयोगको पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुहररूमा असीमिति ज्ञान हासिल गर्ने भन्दा पनि लोकसेवा आयोगले चाहेको जस्तो प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्दछ । त्यसअनुसारको सर्वपक्षीय , सर्वाङ्गीण तयारी गर्नुपर्दछ ।
२०० पूर्णाङ्कको लिखित र ३० अङ्कको अन्तर्वार्ता सहितको परीक्षामा पास हुने र फेल हुने बीचको सम्भावित अङ्कलाई यहाँ देखाउन खोजिएको छ । यतिसम्म न्यून फरकले पनि परीक्षामा नतिजा उल्टो हुनसक्छ भन्ने देखाउन खोजिएको छ । परीक्षाको तयारी गर्ने हरेक उम्मेदवारहरूले यो माथिको अङ्कलाई नियालेर हेरेको हुनुपर्दछ । यसलाई बुझेको हुनुपर्दछ । यसलाई आत्मसात गरेको हुनुपर्दछ । प्रतिस्पर्धात्मक परीक्षा चानचुने विषय होइन । सामान्य गल्ति वा त्रुटीले पनि असफलता हात पर्न सक्दछ । माथिको अङ्क एउटा उदाहरण हो । यसमा दशमलव पश्चात पनि चार वटा अङ्क छन् । अर्थात परीक्षामा पास हुने र फेल हुनेको बिचमायसरी दशमलव पछिका अङ्कको मात्र पनि फरक पर्न सक्दछ । तपाई एक वा दुई अङ्कले हैन, दशमलव पछिका पनि अति न्यून अङ्कका कारण असफल बन्न सक्नुहुन्छ । तसर्थ यस्ताखाले परीक्षाको तयारी र सामना गर्दा अत्यन्त होसपूर्ण तरिकाले गर्नु आवश्यक छ ।
२. तयारी कसरी गर्ने त?
प्रतिस्पर्धात्मक परीक्षा भनेको सूचना संकलन, विषयवस्तुको ज्ञान, त्यसको संग्रह मात्र हैन । त्यस भन्दा पर गएर त्यसमा मुख्यतया तीनवटा शीपहरूको मिश्रण हुनु अत्यावश्यक छः विषयवस्तुको ठोस ज्ञान, अत्यन्त निखार सीप र सकारात्मक दृष्टिकोण । तोकिएको पाठ्यक्रमका विषयवस्तुहरूको ज्ञान अनिवार्य र मुल तत्व हो । यसमा निपुर्णता हुनु अत्यावश्यक छ । तर माथी उल्लेख गरिसकिएको छ कि ज्ञानको सीमा हुदैन । कुनै पनि विषयमा ज्ञान प्राप्त गर्न हामीसँग उपलब्ध समय पूर्ण नहुन सक्दछ तर परीक्षामा त्यो असिमित ज्ञानले मात्र सफलता हात नपर्न सक्दछ । तसर्थ, सम्वन्धित विषयमा ठोस, चुरो ज्ञान हासिल गरिनु आवश्यक छ । पातपतिङ्गर भेला पारेर डोको भर्नुभन्दा आवश्यक परिमाणमा वन्सो मात्र लिएर थुन्से भर्नु ठीक । वरू वाँकी समयलाई हामीले हाम्रो सीप निखार्न खर्चिनु पर्दछ । सीप प्रस्तुत गरिरहँदा तेश्रो र अतिमहत्वपूर्ण पक्ष भनेको उम्मेदवारको दृष्टिकोण हो जुन अत्यन्त सकारात्मक हुनु जरूरी छ । उम्मेदवारको दृष्टिकोण समग्र परीक्षा प्रणाली र आफ्नो प्रस्तुती प्रति अत्यन्त सकारात्मक भावको साथै आत्मविश्वासी हुनु जरूरी छ ।
मुख्यत तयारी गर्दा निम्न चारवटा पक्षहरूको सन्तुलन अति आवश्यक हुन्छ ः
  • विषयवस्तुको ज्ञानः पहिलो कुराः माथि भनिए जस्तै विषयवस्तुको ज्ञान हुनुपर्दछ । विषयवस्तुको चुरो ज्ञान लिनुपर्दछ । यसको लागि सन्दर्भ पुस्तकहरू, गाइडहरू भन्दा पनि पाठ्यपुस्तकहरूवाट लिनुपर्दछ । विषयवस्तुमा पनि भनेको के हो ? त्यो विषयको ठ्याक्कै अर्थ के हो ? त्यसको सामान्य उदगम वा भनौँ अवधारणा के हो ? त्यो विषयवस्तुका बारेमा हाल मुलुकमा र अन्तर्राष्ट्रियमा के अवस्था छ ? अभ्यास के छ? त्यस विषयमा हामिले के व्यवस्था गरेका छौँ ? कस्ता प्रावधानहरू, प्रयासहरू भएका छन् ? अब के गर्नुपर्ने छ ? अबको दिशा के हो ? यस्ता विषयमा सटीक तर स्पष्ट ज्ञान हुनुपर्दछ ।
  • प्रस्तुतीकरण शैली/सीपः आर्जित ज्ञानलाई कलम र कपीको माध्यमबाट उत्तरपुस्तिका परिक्षण गर्नेसम्म पुर्याउने नै वास्तवमा हाम्रो प्रस्तुतीकरण शैली वा सीप हो । ज्ञान अथाह छ तर प्रस्तुतीकरणमा त्यो ज्ञान झल्किएन भने उल्टोपाल्टो पर्न सक्दछ । मैले देखे जाने बुझेसम्म अत्यन्त दिग्गज उम्मेदवारहरू प्रतिस्पर्धात्मक परीक्षामा असफल हुनका पछाडि यही सीपको कमीले हो । यो शैली भित्र पनि मुख्य दुई वटा क्षमताहरू पर्दछन् ।
पहिलो कुरा, प्रश्नलाई बुझ्ने । प्रश्नलाई मिहिन तरिकाले होसपूर्वक पढ्ने अध्ययन गर्ने र त्यसले मागेका कुराहरू थाहा पाउने । प्रश्नले अपेक्षा गरेको विषय बुझिएन भने हामीले लेखेको कुराले मात्र प्रश्नलाई सन्तुष्ट पार्न सकिँदैन । मैले धेरै विद्यार्थीहरू प्रश्नलाई दोहोराएर तेहेर्‍याएर पढ्ने गरेको पाएको छैन । प्रश्नलाई देख्ने बित्तिकै “ए, अँ ” भनेर शिकारीले शिकार देखे जस्तो गरेर झम्टिहाल्ने प्रवृत्ति अधिकांशमा पाइन्छ । लेख्दै जाँदा प्रश्नमा डोरिँदै प्रश्नलाई हेर्दै लेख्नुपर्नेमा एक सपाट सरासर लेख्ने र कसैले अन्तिममा हेरेर “ए….., अँ….” भनेर झस्किने र कोहीकोही त बाहिर निस्किइसकेपछि प्रश्न देखेर छक्क पर्ने पनि देखेको छु । मैले एउटा परीक्षा सकिएर बाहिर निस्किए पछि एकजनालाई “व्यवस्थापकिय लेखा भनेको के हो ? व्यवस्थापकीय लेखापरीक्षण किन गर्नुपरेको हो ?” भन्ने प्रश्नमा दोश्रो खण्डको के उत्तर लेख्नु भो भनेर सोधेको थिएँ, उहाँले लेखापरीक्षण भन्ने नै देख्नुभएन छ । व्यवस्थापकीय लेखा किन गर्नुपरेको हो ? भन्नेको जवाफ लेख्नुभएछ , लेख्नुमात्रै भएन छ कि उहाँले मलाई पनि प्रश्नमा त्यो सोधेकै छैन भनेर हप्काउनु पनि भएको थियो । यस्ता सयौँ उदाहरण छन् हामी वरपर । तसर्थ प्रश्नलाई होसपूर्वक अध्ययन गरेर मात्र लेख्न थाल्नु पर्दछ । प्रश्नलाई स्पष्टतवरले बुझ्नका लागि त्यसलाई आवश्यकतानुसारका खण्डहरूमा विभाजित गरेर पनि हेर्नुपर्दछ ।
दोश्रो कुरा, प्रश्नको सहि उत्तर लेख्ने हो । जानेको भन्दा मागेको कुरा लेख्ने हो । अधिकाँश परीक्षार्थीहरूले प्रश्न देख्ने वित्तिकै “ए यो त फलानो प्रतिवेदनवाट आएछ, फलानो लेक्चर क्लासमा पढाएको थियो, फलानो टिममा बसेर काम गर्दाको कुरा मलाई थाहा छ ” भनेर झम्टेर लेख्ने गरेको पाइन्छ । प्रश्नमा उदाहरणको लागि संस्थान सुधारका बारेमा तपाईले जानेको कुरा लेख्नुस भनेर आएको हुँदैन तर परीक्षार्थीले त्यो भावले त्यो वुझाईले उत्तर लेख्दछ जसले गर्दा प्रश्नको पुरा हल नै हुँदैन । प्रश्नमा विभिन्न शव्दहरू हुन्छन, महत्वपूर्ण शव्दहरू हुन्छन तर तिनलाई ख्याल नगरी उत्तर लेखिदिँदा त्यसले प्रश्नको तौल बोक्दैन । परिवर्तित सन्दर्भमा भन्ने खालका शव्द हुन्छन प्रश्नमा तर परीक्षार्थीले त्यो सन्दर्भ कुन मिति वा समयवाट परिवर्तन भएको हो वा कुन सन्दर्भलाई भन्न खोजेको हो भन्ने नै यकिन नगरी लेख्न थाल्दछन र उत्तर अपूर्ण हुन जान्छ । तसर्थ,प्रश्नलाई दोहोराई तेहेराई पढने, आवश्यक खण्डहरूलाई छुट्याई टुक्राउने, प्रत्येक खण्डको उपशिर्षक लेख्ने र सम्पूर्णतामा अन्त्य गर्ने गरी एउटा पूर्ण उत्तर तयार गर्नुपर्दछ ।
  • समय व्यवस्थापनः परीक्षा भनेको विषयवस्तु र सोको प्रस्तुतीकरणको मात्र नभएर समयको परीक्षा पनि हो । सबै प्रश्नहरूले समान अङ्क धारण गरेको अवस्थामा सबै प्रश्नहरूलाई समान समय दिन नसक्दा सबै प्रश्नहरूले पनि समानरूपले प्रशिक्षार्थीलाई न्याय गर्दैनन् तसर्थ अङ्कभारको आधारमा समय व्यवस्थापन गर्नु अत्यन्त आवश्यक हुन्छ । १०० पूर्णाङ्कको ३ घण्टा समय भएको परीक्षामा प्रत्येक ५ अङ्कका लागि ९ मिनेटको हिसाबले समय बाँडफाँड गरी सोहीबमोजिम प्रस्तुतीकरण गर्नुपर्दछ । प्रश्न भित्रका खण्डहरूको समेत कहिलेकाहीँ समय बाँडफाँड गर्नुपर्ने भएकोले समयको विभाजन अत्यन्त संवेदनशील विषय हो तर यस्तो संवेदनशील विषयमा पनि प्रशिक्षार्थीहरू सजग नभएका, घडी नबोकी जाने, कुन प्रश्नलाई कति समय दिने हो भन्ने पूर्वयकिन नगर्ने र लेख्दै जाँदा लाग्ने समयलाई नै समय विभाजन मान्ने गरेका कारण अधिकांश उम्मेदवारहरू विषयमा विद्वान भएर पनि परीक्षामा असफल भइरहेका हुन्छन । मेरो विचारमा, विषयवस्तुको शतप्रतिशत ज्ञान नभएर पनि कतिपय उम्मेदवारहरू परीक्षामा सफल हुन सक्दछन् तर उचित तवरले समयको बाँडफाँड र उपयोग गर्न सकेन भने चैं कुनैपनि परीक्षार्थी प्रतिष्पर्धाको परीक्षामा असफल हुने पक्का छ ।
  • आत्मविश्वासः परीक्षार्थीको आत्मविश्वास जति बलियो हुन्छ त्यति उसको परीक्षा सप्रेर जान्छ । सकारात्मक भाव, आशावादी र आत्मविश्वासी परीक्षार्थीहरू नै सफल भएका पाइन्छन् । “मैले पढेको छैन,मलाई खासै आउँदैन, मेरा अक्षर नराम्रा छन्, यतिधेरै जाँच दिने छन् म के पास हुँला र” भन्ने जस्ता निराशाजनक चिन्तन मननले सफलता हात पर्दैन । तर कहिलेकाहीँ कम मिहिनेत तर बढी आत्मविश्वासी हुँदा चैं उमेदवारहरूमा असफलता हात परेको देखिन्छ त्यसैले पर्याप्त मिहिनेत र सोही बमोजिमको आत्मविश्वासले सफलता प्राप्त हुन्छ ।
३. छुटाउन नहुने थप केही कुरा 
परीक्षार्थीहरूले परीक्षाका तयारी गर्ने क्रममा निम्नानुसारका प्रयास र अभ्यास गर्दै अगाडि बढेमा सफल हुन सकिन्छ ।
  • आफूले परीक्षा दिन चाहेको पदको पाठ्यक्रम र पुराना प्रश्नहरूको सँगालोलाई अध्ययन गर्ने । पाठ्यक्रममा उल्लेख भएका विषयहरूका बारेमा पाठ्यपुस्तकहरूवाट आधारभूत ज्ञान हासिल गर्ने।
  • जुनसुकै सेवा समूहका उम्मेदवारहरूले पनि व्यवस्थापनको आधारभूत ज्ञान नलिई परीक्षामा सफल हुन गाह्रो पर्दछ तसर्थ विश्वविद्यालयमा व्यवस्थापन अध्ययन गरेका वा नगरेका सबैले कम्तिमा व्यवस्थापनको पाठ्यपुस्तक ल्याएर आधारभूत ज्ञान हासिल गर्ने । व्यवस्थापनका हरेक चरणहरू विशेष गरेर योजना वा सो भन्दा पूर्वको चरण देखि अनुगमन मूल्याङ्कन सम्मका हरेक चरणहरूको बारेमा स्पष्टरूपले ज्ञान हासिल गर्ने ।
  • आफूले परीक्षा दिने तहको पाठ्यक्रमले समेटेका विषयसूची अनुसारका शिक्षकहरूका बारेमा महत्वपूर्ण तथ्यहरू(Ingredient) खोज्ने, सङ्ग्रह गर्ने र अध्ययन गर्ने । प्रत्येक शीर्षकको अर्थ, चुरो बुझ्ने । प्रत्येक शीर्षकका महत्वपूर्ण शब्दहरू, प्राविधिक शब्दहरू (Jargon) अध्ययन गर्ने । उदाहरणको लागि विकेन्द्रीकरण शीर्षक अध्ययन गर्दा परिपूर्णताको सिद्धान्त अनिवार्य अध्ययन गरेको हुनुपर्दछ अन्यथा यो शीर्षकको पढाई अपुरो हुन सक्दछ ।
  • प्रत्येक शीर्षकको बारेमा कम्तिमा चारवटा पक्षबाट अध्ययन गर्नेः(क) त्यसको अर्थ, (ख) त्यसको बारेमा भैरहेको अभ्यास वा प्रयासहरू वा सरकारले गरेका विभिन्न व्यवस्थाहरू, (ग) त्यसको बारेमा हालको परिमाणात्मक तथ्याङ्कीय तथा व्याख्यात्मक अवस्था, (घ) त्यो विषयमा अन्तर्राष्ट्रिय परिवेश वा हाम्रा नीतियोजनाहरूले परिलक्षित गरेको अबको बाटो/अबको कार्यदिशा
  • समसामयिक वृहत विषयहरू/सवालहरू/मुद्दाहरूका बारेमा आफ्नो धारणा स्पष्ट बनाउने ।
  • परीक्षामा परीक्षार्थीको क्षमता जाच्‍नेभनेको लिखित कपी हेरेर हो  । खेलाडीको परीक्षा खेलकुद मैदानमा खेलेको खेलको स्तर जाँचे जस्तै हो । तसर्थ खेलाडीले अभ्यास खेल खेले जस्तै परीक्षार्थीहरूले अभ्यास परीक्षा नदिई फाइनलमा बस्दा अत्यन्त जोखिम हुन्छ । तसर्थ परीक्षा भन्दा अगाडि धेरै पटक लेख्ने अभ्यास गर्नुपर्दछ ।
  • घरमा अभ्यास गर्दा प्रश्नहरूलाई टुक्र्याएर पढ्ने र सोही अनुसार हल गर्ने बानी बसाउनु पर्दछ। प्रत्येक प्रश्नको मुख्य र महत्वपूर्ण शब्दहरूलाई पत्ता लगाई त्यसमा डोरिएर लेख्दै जाने । उत्तर लेख्दै गर्दा पटक पटक प्रश्न पढ्दै जानुपर्दछ ताकि लेखाइ अनावश्यकरूपले नबहकियोस् ।
  • परीक्षामा वस्नुभन्दा अगावै प्रत्येक प्रश्नको समय बाँडफाँड पहिल्यै छुट्याएर त्यही सिमा भित्र रही लेखिसक्नुपर्दछ ।
  • प्रायजसो परीक्षार्थीहरूले एक भन्दा वढी समूहको परीक्षाहरू दिने तयारी गरेका हुन्छन त्यस्तो अवस्थामा सबै पाठ्यक्रमलाई सकेसम्म सामूहिकीकरण(Clustering) गरेर अध्ययन गर्दा नदोहोरिने र सङ्गठित पनि हुन्छ ।
  • असीमित र असङ्गठित तरिकाले पढ्नु हुँदैन । परीक्षार्थीसँग सबैथोक भए पनि पर्याप्त समय न तयारीका लागि हुन्छ न परीक्षाका लागि । त्यसैले सकेसम्म कम पढ्ने, अध्ययन मनन धेरै गर्ने, पढाईलाई सङ्गठित गर्ने, पढेका कुराहरूलाई सिलसिलेबाररूपले सन्दर्भसँग जोडेर सम्झने र परीक्षामा कसरी व्यक्त गर्ने भन्ने सम्मको तयारी गर्न सक्नुपर्दछ ।
(लेखक सुमन दाहाल नेपाल सरकारका सहसचिव हुन्)

No comments

Powered by Blogger.