Random Posts

contact for perofessional web development

समसामयिक घटना : आवश्यक छ जागरूकता

लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि कुनै पनि क्षेत्रको समग्र एवं विश्लेषणात्मक जानकारी आवश्यक छ । गत वर्षको प्रारम्भिक परीक्षामा समसामयिक मुद्दासँग सम्बन्धित जुन प्रश्न सोधिएको थियो त्यसले पनि यो कुरालाई पुष्टि गर्छ कि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति आँखा चिम्लिने हो भने सफलता प्राप्त गर्न सकिंदैन । परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्न सोध्नुको मुख्य उद्देश्य परीक्षार्थीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशप्रतिको सजगता एवं जागरूकताको परख गर्नु हो । यसका लागि समाचारका माध्यमसँग निरन्तर सम्पर्कमा रहनुका साथै विविध घटनाका सम्बन्धमा हुने चर्चा-परिचर्चा र बहसका विभिन्न पक्षलाई बुझ्नुपर्छ । यसका लागि परीक्षार्थीले आफ्नो तयारीको प्रारम्भिक समयदेखि नै जागरूक हुनुपर्छ ।
समग्र दृष्टिकोणको विकास
समसामयिक विषयको कुनै पनि घटनालाई केवल तथ्यात्मक वा एउटा सूचनाका रूपमा हेर्नु हुँदैन, त्यसका लागि एउटा समग्र दृष्टिकोण आवश्यक छ । कुनै पनि घटनाको एउटा पृष्ठभूमि हुन्छ जसबाट अवगत नभै त्यसको वर्तमान स्थिति बुझ्न सकिँदैन । अर्को कुरा, घटनाको विविध आयामलाई जानेर नै त्यसको मूल्यांकन गर्न सकिन्छ । उदाहरणका लागि नेपाल विश्वको जलस्रोतको दोस्रो धनी देश हो, तर यहाँका बासिन्दा अहिले चर्को लोडसेडिङको मार खेपिरहेका छन् । त्यसैले नेपालको विकासको मूल्यांकन गर्दा प्राकृतिक स्रोत-साधनको कुरा गरेर मात्र हुँदैन, अपितु: त्यसमा निहित विभिन्न विरोधाभास तथा असंगतिहरूलाई हेर्नु पनि आवश्यक हुन्छ । समसामयिक घटना र मुद्दासँग सम्बन्धित जानकारी प्रारम्भिक परीक्षा, मुख्य परीक्षा तथा अन्तर्वार्ता तीनवटैका लागि समान रूपले उपयोगी छन् । प्रारम्भिक परीक्षामा समसामयिक विषयवस्तुमा आधारित प्रश्न ३०-३५ प्रतिशत हुन्छन् जसको स्वरूप तथ्यांत्मक तथा अवधारणात्मक दुवै हुन्छन् । कतिपय अवस्थामा कुनै घटनाबाट नभै त्यसको पृष्ठभूमिबाट पनि प्रश्न सोधिन्छ । मुख्य परीक्षामा यो खण्डबाट लगभग ४० प्रतिशत प्रश्न सोधिन्छ । यी प्रश्न केही जटिल प्रकारका हुन्छन् जसले विश्लेषणात्मक जवाफको खोजी गर्छ ।
समसामयिक घटनासम्बन्धी तयारीमा सम्बन्धित जानकारी जुटाउन तथा त्यसको अध्ययनसँग सम्बन्धित दुई प्रकारका समस्या छन् । पहिलो यसको क्षेत्र धेरै विस्तृत र व्यापक छ । यसअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यसँग सम्बन्धित समस्त जानकारी समाहित गरिएका छन् जसको तथ्यात्मक एवं विश्लेषणात्मक दुवै पक्षलाई ध्यानमा राख्नुपर्छ । दोस्रो समस्या, समसामयिक घटनाको प्रामाणिक तथा सन्तुलित स्रोतको छ । भनिन्छ, समसामयिक घटनाका लागि कुनै एउटा समाचारमाध्यम पर्याप्त छ यद्यपि कुनै पनि समाचारमाध्यममा प्रकाशित हुने आलेख लेखकको व्यक्तिगत विचार तथा विचाराधारासँग सम्बन्धित हुनसक्छ । अत: त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउनु एकपक्षीय वा एकांकी हुनसक्छ । वास्तवमा समसामयिक घटनासँग सम्बन्धित विविध तथा छरिएर रहेका जानकारी संकलित गर्नु र त्यसलाई विश्लेषण गरेर एउटा सन्तुलित निष्कर्ष निकाल्नुपर्ने यो खण्डको तयारीका लागि एउटा समग्र र सन्तुलित रणनीति बनाउनुपर्छ एवं त्यसैअनुसार समसामयिक घटनाको न केवल अध्ययन गर्नुपर्छ अपितु: त्यसमा परिचर्चा पनि चलाउनुपर्छ, जसले गर्दा विभिन्न घटनाप्रति सुस्पष्ट दृष्टिकोण विकसित हुन सकोस् ।
कसरी पढ्ने समसामयिक घटना ?
समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. समसामयिक घटनाप्रति आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय राष्ट्रिय समाचारपत्र पढ्ने अथवा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
२. राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनालाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्ष बुझ्ने प्रयास गर्नुपर्छ ।
४. कुनै पनि घटनालाई त्यसको बहुआयामिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक पक्ष पनि बुझ्नुपर्छ ।
५. समसामयिक विषयका लागि सधैं प्रमाणित स्रोतलाई आधार बनाउनुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् । अत: कुनै घटना र त्यससँग सम्बन्धित भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।
समसामयिक विषयको वर्गीकरण
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ ।
१. राष्ट्रिय महत्त्वको विषय
-    सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप
-    न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
-    राष्ट्रिय योजना आयोग
-    विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
-    क्षेत्रीय तथा स्थानीय गतिविधि
-    चर्चित व्यक्तित्व
२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
-    नेपाल र विश्व तथा नेपालको विदेश नीति
-    संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
-    विभिन्न देशका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
-    सार्क गतिविधि
-    अन्य वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि
३. आर्थिक महत्त्वको विषय
-    राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
-    मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति- नियम एवं सुधार
-    व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
-    विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
-    अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि
४. सामाजिक महत्त्वको विषय
-    श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
-    खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
-    वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।
५. विज्ञान तथा प्रविधि
-    सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
-    विभिन्न अन्वेषण तथा आविष्कार
-    स्वास्थ्य र पोषण, कृषि तथा उद्योग
६. पर्यावरणीय महत्त्वको विषय
-    प्राकृतिक संरचना र विपद् व्यवस्थापन
-    वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
-    पर्यावरणसँग सम्बन्धित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि
७. खेलकुद
-    प्रमुख खेल आयोजन, पुरस्कार
८. विविध
-    शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
-    प्रमुख दिवस र वर्ष, महोत्सव
-    प्रमुख अभियान, शिक्षा-संस्कृति, दुर्घटना तथा अन्य महत्त्वपूर्ण तथ्य ।
केही भ्रम र यथार्थ
लोकसेवा आयोगको परीक्षाका सम्बन्धमा युवाहरूमा विभिन्न थरीका भ्रम पाइन्छ । फलस्वरूप कतिपय युवा लोकसेवामा जाने कुराको कल्पनासम्म गर्दैनन् । केही यस्तै भ्रमहरू :
नेपाली मातृभाषीलाई लाभ
लोकसेवा आयोगको चरित्र अहिले पनि खस नेपाली भाषीको छ । अत: यो परीक्षामा ती प्रतियोगीलाई महत्त्व दिइन्छ जसको मातृभाषा नेपाली हो । यस्ता आरोप खासगरी अन्तर्वार्तामा बढी सुनिन्छ तर वस्तुस्थिति त्यस्तो हुँदैन । गैरनेपाली भाषी पनि त्यही अनुपातमा सफल हुन्छन् ।  
आर्थिक तथा पारिवारिक पृष्ठभूमि
लोकसेवामा सफलता प्राप्त गर्न आर्थिक रुपमा सम्पन्न हुनुपर्छ भन्ने कुरा पनि एउटा भ्रम हो । कसैको परिवारमा शाखा अधिकृत, इन्जिनियर वा डाक्टर छन् भन्दैमा कोही टपर हुन सक्दैनन् । यस्ता कैयौं उदाहरण छन् जसमा अत्यन्त साधारण अथवा गरिब परिवारबाट आएकाहरू पनि लोकसेवा आयोगको परीक्षामा सफल भएका छन् ।
कोचिङको भूमिका
अन्य परीक्षा जस्तै लोकसेवा आयोगको परीक्षामा पनि सफलता प्राप्त गर्न कोचिङ क्लासको आवश्यकता छ भन्नु पनि भ्रम हो । यदि यस्ता कोचिङको यति ठूलो भूमिका हुन्थ्यो भने सबै सफल प्रतियोगी कुनै न कुनै कोचिङ संस्थाबाटै आउँथे । जब कि त्यस्तो हुँदैन । कोचिङ क्लासमा सामेल केही मात्र सफल हुन्छन् ।  
उच्च शैक्षिक पृष्ठभूमि
एउटा धारणा के पनि छ भने कमजोर शैक्षिक पृष्ठभूमिका परीक्षार्थीले सफलता प्राप्त गर्ने दर धेरै कम छ । वास्तविकता त्यस्तो छैन, किनभने लोकसेवा आयोगको परीक्षामा सफल हुन कुनै एउटा मापदण्ड छैन । यो परीक्षाका लागि उचित रणनीति र कठोर परिश्रम आवश्यक हुन्छ । यदि त्यस्तो नभएको भए शाखा अधिकृत, नायब सुब्बा तथा खरिदारमा प्रथम श्रेणीका परीक्षार्थीको मात्र छनोट हुने थियो । त्यसै पनि शाखा अधिकृतको परीक्षाका लागि न्यूनतम योग्यता स्नातक तोकिएको छ । लोकसेवाका लागि कुनै न्यूनतम अंक निर्धारित छैन । यसको उद्देश्य सबै प्रकारका परीक्षार्थीलाई परीक्षामा सामेल हुने अवसर प्रदान गर्नु हो ।
सर्वश्रेष्ठ नोट्स
कतिपय परीक्षार्थी सफल पूर्व परीक्षार्थीको नोट्स अथवा कोचिङ संस्थाको सर्वश्रेष्ठ नोट्स प्राप्त गर्न विभिन्न कोचिङ सेन्टर चहारिरहेका हुन्छन् । किनभने उनीहरूलाई लाग्छ कि यसप्रकारको नोट्स उपलब्ध भए उसको सफलताको बाटो सहज हुन्छ । वस्तुत: यो धारणा पूर्णरूपमा गलत छ । प्रत्येक व्यक्तिको सत्य र अनुभव उसको आफ्नै हुन्छ । यदि त्यस्तो हुँदैनथ्यो भने बजारमा वा इन्टरनेटमा सबै प्रकारका नोट्स र अध्ययन सामग्री उपलब्ध छन् र त्यसलाई जो कसैले सजिलै प्राप्त गर्न सक्छन् ।
पढाइको घण्टा
प्राय: यो पनि भनिन्छ कि सफल हुने परीक्षार्थीले १५ देखि १८ घण्टासम्म अध्ययन गर्छन् । यो कुरा सबैका लागि सम्भव छैन । त्यसैले केही खास व्यक्ति नै लोकसेवा आयोगको परीक्षाको तयारी गर्छन्  यो पनि एउटा भ्रम नै हो, किनभने पढाइमा खर्च गरिएको समयले त्यति अर्थ राख्दैन जति कि पढाइको गुणवत्ता र त्यसको परिणामले ।

Post a Comment

0 Comments