Random Posts

contact for perofessional web development

भेट्रान भौतिकशास्त्री

संसारमै कठिन विषय मानिएको छ, भौतिकशास्त्रलाई । त्यसैले नयाँ विद्यार्थी कक्षाकोठाबाट भाग्छन्, भागिरहन्छन् । तर, नेपालकै पहिलो भौतिक खगोलविद् उदयराज खनाल, ६१, लाई अमेरिका गएपछि मात्र थाहा भयो, भौतिकशास्त्र गाह्रो विषय हो । तब न अग्ला भौतिकशास्त्री !

अमेरिकीहरूलाई गणित पनि गाह्रो । भौतिकशास्त्र पनि गाह्रो । भौतिकशास्त्र पढ्न आएको नेपाली विद्यार्थीलाई सोधेछन्, ‘तिम्रो दिमागमा के छ ?’ त्यसको एक मात्र रहस्य थियो, पिता सरदार यदुनाथ खनालले गणित र विज्ञानमा बसालिदिएको जग ।
(This article is taken from Nepal for self motivation)
अमेरिकामा भौतिकशास्त्रको माग कति छ भने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागका १ सय २० विद्यार्थीमध्ये आधाजसो अमेरिकै पुग्छन् । भौतिकशास्त्र भनेकै अमेरिकी भिसा भन्ने मान्यता बसिसकेको छ त्रिविमा ।
“भौतिकशास्त्र पढ्ने सरदर ३०/४० विद्यार्थी पीएचडी गर्न अमेरिका जान्छन्, तिनले यहाँ सजिलै प्लस टू पढाउन पनि पाउँदैनन्,” यी अवकाशप्राप्त प्राध्यापकको अनुभव छ, “जुन शक्ति अमेरिकामा मालामाल छ, त्यही नेपालमा फालाफाल ।” 
अक्षर नचिन्दै भौतिकशास्त्रसँग साइनो गाँसेका रहेछन् उदयले । घरमा एक दिन पिताले बल्ब ल्याएर जोडेछन् । स्वीच थिचेपछि त्यो मधुरो बल्यो । कति मधुरो भने लेखपढका लागि सधैँ टुकी नै बाल्नुपथ्र्यो । आखिर स्वीच थिच्नेबित्तिकै कसरी बिजुलीबत्ती बल्छ ? उदयले पितालाई सोधे, ‘बिजुलीबत्तीका बारेमा केमा पढाउँछन् बुबा ?’ 
‘फिजिक्समा ।’
त्यस बेलादेखि ‘क्लिक’ भएको हो, भौतिकशास्त्र । भौतिक विज्ञानतर्फ आकर्षित हुनु र सफल हुनुको श्रेय पितालाई नै दिन्छन् उदय । खासमा पिताश्रीकै छत्रछायामा भौतिकशास्त्री बनेका हुन् । उनले थाहा पाउँदा नै त्रिचन्द्र कलेजमा अंग्रेजीका प्रोफेसर थिए यदुनाथ । जगजाहेर छ, उनका पिता १९९१ को एसएलसी बोर्ड फस्ट हुन् । 
मुलुकको शिक्षा, साहित्य र कूटनीतिमा एकछत्र योगदान गरेका यदुनाथले छोराछोरीलाई आफ्नै रुचिको क्षेत्रमा स्वतन्त्र छाडिदिए । “विद्यार्थी जीवनमा म बुबाजस्तो मिहिनेती अवश्य थिइनँ,” उदय तुलना गर्छन्, “मन परेका विषयमा राम्रो गरेँ, मन नपरेका विषयमा ध्यानै दिइनँ ।” 
काठमाडौँ, पकनाजोलमा दुई दिदीपछि जन्मेका उदयलाई अनपढ आमा कमलाले साँवाअक्षर चिनाइन् । कमलालाई भने उनका पिताले अक्षर चिनाएका रहेछन् । सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा २ कक्षा पढेर भारतको नयाँदिल्ली गए उदय, राजदूत पितासँगै ।  
त्यहाँ कक्षा फड्किएर एकैचोटि ४ मा भर्ना भए । त्यतिबेला दिल्ली जान पाएको भन्दा पनि टोले साथी छुटेको दु:ख लागिरह्यो उनलाई । त्यहाँको सेन्ट कोलम्बिया स्कुलमा पाँच वर्ष बिताए । फर्किएर सेन्ट जेभियर्स कलेजबाट ओ लेबल गरे । 
लगत्तै पिता अमेरिकाका लागि राजदूत भए । फेरि प्रतिष्ठित शैक्षिक संस्थामै पढ्ने सुयोग मिल्यो उनलाई । फ्लोरिडा एटलान्टिक विश्वविद्यालयमा बीएस्सी र भारतको दिल्ली विश्वविद्यालयमा एमएस्सी, एमफिल र पीएचडी उपाधि लिए । अमेरिकामा अवसर थियो, भारतमा भाउ थियो । त्यहाँ बस्ने अनुमति पिताले पनि दिएनन्, उनले पनि रहर गरेनन् ।
पिता राजदूतको कार्यकाल सकी फिर्ता भएपछि चार वर्ष एक्लै अमेरिका बसे उदय । त्यहाँ उनले लामो कपाल पालेका थिए । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनकहाँ जाने कार्यक्रममा पिताले अह्राए, ‘कपाल काट्, सुट लगा ।’ उनले पितालाई उल्टै सर्त तेस्र्याए, ‘कि सुट लगाउँछु कि कपाल काट्छु ।’ पिताले छुट दिएछन्, कपाल नकाट्ने तर सुट लगाउने सर्तमा । निक्सन कति अलोकप्रिय भने त्यसपछि कतिपय साथीले उदयसँग हातै मिलाएनन् ।  
ब्ल्याक होलका विषयमा पीएचडी गरेका उदयको अनुसन्धान लेख छापियो, विश्वकै नामी जर्नल इन्टरनेसनल जर्नल अफ मोडर्न फिजिक्समा । सन् १९८९ को त्यो लेख महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको सामान्य सापेक्षतावादको सिद्धान्तलाई नै चुनौती साबित भयो ।
प्रकाशको गतिभन्दा छिटो केही हुन सक्दैन भन्ने आइन्स्टाइनको सय वर्ष पुरानो प्रक्षेपण थियो भने उदयको सैद्धान्तिक पुष्टिसहितको नतिजा– सुचालक माध्यम भयो भने विद्युतीय तरंगहरू प्रकाशभन्दा छिटो जान सक्छन् । भौतिक विज्ञानको क्षेत्रमै हलचल ल्याउन सफल त्यो सैद्धान्तिक अनुसन्धानविरुद्ध तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (रोनास्ट, हाल: नास्ट)का पदाधिकारीले प्रेस वक्तव्य नै निकाले, होहल्लाका पछि नलाग भनेर ।  
दुर्भाग्य के भने त्यो सिद्धान्तलाई स्रोतसाधनको अभावमा अहिलेसम्म प्रयोगबाट प्रमाणित गर्न सकिएको छैन । यद्यपि, अन्य वैज्ञानिक अनुसन्धानले पनि त्यस्तै नतिजा देखाएका छन् । “यस्ता अनुसन्धानका लागि ठूलठूला प्रयोगशाला चाहिन्छन्, त्यो हाम्रा लागि अझै कल्पनाबाहिर छ,” उदय भन्छन्, “त्यसैले एक नेपालीको अनुसन्धानलाई कतिपयले महत्त्व दिएनन्, सजिलै स्वीकार्न पनि चाहेनन् ।”
पिताजस्तै सरल, अल्पभाषी तर हक्की छन् उदय । सन् १९८९ मा भौतिक विज्ञानमा पुर्‍याएको योगदानबापत युवा वैज्ञानिक पुरस्कार पाएपछि उनले सरकारी टेलिभिजनमै अन्तर्वार्ता दिए, विज्ञानका लागि अरू संस्था थप्नेभन्दा पनि त्रिभुवन विश्वविद्यालयलाई नै स्रोतसाधनसम्पन्न बनाउनुपर्ने आशयमा । त्यसपछि तत्कालीन रोनास्टका पदाधिकारीले त्यसविरुद्ध खेद प्रस्ताव ल्याए । त्यो सम्झेर उनले पछि नास्टको प्राज्ञ बन्ने प्रस्ताव नै अस्वीकार गरिदिए । उनलाई के थाहा थियो भने त्यहाँ गएँ भने अहिले गरिरहेको जति काम पनि गर्न सकिँदैन ।
“हामीकहाँ विभाग, एकाइहरू टुक्र्याएर, धेरै साइनबोर्ड झुन्ड्याएर विज्ञानमा के के न काम गर्न खोजेजस्तो देखाउने चलन छ,” उदयको अनुभव बोल्छ, “मैले भन्दा मान्छेहरू रिसाउने गर्छन्, फेरि पनि रिसाउलान् । अन्य सबै क्षेत्रमा जस्तै नेपालको विज्ञानले पनि सक्षम नेतृत्व पाउन सकेको छैन ।”
विज्ञान प्रविधि क्षेत्रमा क्रियाशील वैज्ञानिक (वर्किङ साइन्टिस्ट)कै नेतृत्व चाहेका छन् उनले । उनको बुझाइमा हात मैलो होला भनेर डराउने मानिस वैज्ञानिक हुन सक्दैन । उसको तनमन प्रयोगशालाभित्रै जरुरी हुन्छ । टेबल कुरेर, फाइलमा घोरिएर अरूलाई काम गराउन सकिँदैन । “मैले सातै प्रदेशमा नास्टको शाखा खोल्ने सुनेको छु । त्यही टुक्र्याउने सोचले साधनस्रोत पातलिन्छ, जागिर दिने र तलब खुवाउने काम मात्र हुन्छ,” उनको विमति छ, “हाम्रा नेताहरू खान पुगेको छैन, फिजिक्सलाई कहाँबाट पैसा ल्याउने बाहेक केही भन्दैनन् ।”
छिमेकी मुलुक चीनले भर्खरै विश्वकै ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ । युरोपको सहयोगमा भारतमा खोलिएका प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएका छन् । यस्तो स्थितिमा उदय घरीघरी सन् १९७९ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेता अब्दुस सलामलाई सम्झन्छन् । किन सम्झन्छन् भने सलाम भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्छन् । भौतिकविज्ञानसित नजोडिई धनी भइँदैन भन्छन् । 
ती महान् वैज्ञानिकले नेपाल आएर सूचना प्रविधिले मात्र विकास हुन्छ, धनी हुन्छ भन्ने सपना देखाइदिएका थिए सन् १९८९ मै । र, सूचना विज्ञान, पदार्थ विज्ञान जैविक प्रविधि (बायो टेक्नोलोजी) को अनुसन्धानका लागि नेपालमै हाई टेक्नोलोजी सेन्टर खोलिदिने प्रस्ताव पनि राखेका थिए । जतिबेला न बैङ्लोर आइटी सिटी या ‘सिलिकन भ्याली अफ इन्डिया’ बनेको थियो, न त हैदरावाद नै ‘साइबरावाद’ भएको थियो । 
नेपालको गरिबीबाट दु:खी भएका ती पाकिस्तानी भौतिकशास्त्रीले राजा वीरेन्द्रतिर औँला देखाउँदै पटकपटक भनेका रहेछन्, यति नगरी देशको विकास हुँदैन । राजाले त्यसमा रुचि पनि देखाए । शिक्षामन्त्री परशुनारायण चौधरीलाई सलामसित भेट्न पनि पठाए । शिक्षा मन्त्रालयले त्यसको प्रतिवेदन बुझाउने जिम्मा रोनास्टलाई दियो । तर, विदेशीको हालीमुहाली हुन्छ भनेर रोनास्टका ‘ठूला’ वैज्ञानिकहरू त्यसमा सकारात्मक हुन सकेनन् ।  
“सरकारले त्यतिबेला जग्गामात्र छुट्याइदिए पुग्थ्यो, अरू व्यवस्था उनैले गरिदिन्थे,” उदय थकथक मान्छन्, “बनेपामा दशकौँपछि सूचना प्रविधि पार्क त बन्यो तर बन्यो भूतबंगला । कम्तीमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनेको भए लाहुर लखेटिएका सबै नभए पनि थुप्रै भौतिकशास्त्री फर्कने वातावरण बन्थ्यो ।” 
केही समयपछि तिनै सलाम निर्देशक रहेको इटालीस्थित इन्टरनेसनल सेन्टर फर थ्यौरिटिकल फिजिक्स गएका थिए उदय । त्यहाँ सलामले पहिलो प्रश्न गरेछन्, ‘नेपालमा हामीले गर्न खोजेको काम के भइरहेको छ ?’ समिति मात्र बनेको बताइदिए उनले । सलामले मलिन मुद्रामा भनेछन्, ‘ल, अब छोडिदिनोस् । त्यो काम हुँदैन, नगर्ने नै भए ।’ 
जुन मुलुकले विज्ञान र प्रविधिको उपयोग गर्न सक्यो, उही सक्षम, समृद्ध र शक्तिशाली भएको छ विश्वमा । “वेदको पहिलो मन्त्र नै अग्निपूजासम्बन्धी छ,” उदय भन्छन्, “आगोलाई नियन्त्रण गर । चाहिएका बेला बाल, ऊर्जा निकाल ।”   
एमएस्सीपछि १० महिना सिद्धनाथ क्याम्पस, महेन्द्रनगरमा पढाएका उदय सन् १९८२ मा पीएचडी सकेर त्रिविको केन्द्रीय भौतिकशास्त्र विभाग प्रवेश गरे । त्यो ३४ वर्षे अध्यापन यात्राले गत भदौमा औपचारिक विश्राम लिएको छ । 
उदयको पालामा नागरिकतामा जन्ममिति लेख्ने चलन थिएन । नागरिकतामा वर्ष मात्र लेखिएका कारण उनलाई विश्वविद्यालयले उमेरै नपुगी अवकाश दियो । अनुसन्धानमा कति एकसुरे भए भने अवकाशको मिति पनि हेक्का गरेनन् । कतै केही गुनासो पनि गरेनन् ।  
कहिल्यै कसैको बन्धनमा रहेनन् । समयलाई आफ्नै अनुकूल चलाए । बाबुजस्तो कूटनीति, प्रशासनतिर रहरै गरेनन् । बरू विश्वविद्यालयको रुटिन झेलेर अध्ययन, अनुसन्धान अघि बढाए । डेढ दर्जन अनुसन्धान लेख विभिन्न जर्नलमा छपाए । “हिसाबको ठाउँ खाली राखेर रिसर्च पेपर टाइप गर्थें । प्रिन्ट गरेपछि हातले लेखेर हुलाकबाट पठाउँथेँ,” ती दिन सम्झन्छन्, “महिनौँपछि रिसर्च पेपर पाएको खबर आउँथ्यो, अझ महिनौँपछि छापिएको खबर ।”
नयाँ पुस्ताको विज्ञानमोह उनलाई थाहा छ । तिनका वैज्ञानिक जिज्ञासा टेलिभिजन कार्यक्रम ‘आजको विज्ञान’मा शान्त गरिदिन्छन् । “देशभित्र सहुलियतमा पढेर निस्कनेहरूको कर्तव्य आफैँले रोजगारी सिर्जना गर्नु हो,” युवालाई उनको आह्वान छ, “परजीवी बन्नु होइन उद्योगी र उद्यमशील हुनु हो ।”
अधिकांश समय प्रयोगशालामै बित्छ उनको । विज्ञानलाई विकासको एक मात्र बाटो मान्ने यी भौतिकशास्त्री मुलुकमा अविज्ञान छताछुल्ल भएको देख्छन् । “विज्ञान भनेको ट्रायल एन्ड इररकै प्रक्रिया हो,” 
उनको धारणा छ, “गल्तीबाट सिक्नु विज्ञान हो, त्यस्तै गल्ती बारम्बार गर्नु अविज्ञान ।” निश्चय पनि उदयका आइडल या मानक आइन्सटाइन नै हुन् । सामान्य सापेक्षतावाद उनकै सिद्धान्त हो । क्वान्टम सिद्धान्तमा पनि उनकै योगदान छ । उनी अब यी दुवै सिद्धान्तलाई एउटै बनाउने चुनौती देख्छन् । 
भौतिकशास्त्र आफैँमा दर्शनशास्त्र हो । त्यसैले दर्शनमा उनको रुचि छ । पिताले विज्ञान र साहित्यमा समानान्तर चासो हालिदिएजस्तो लाग्छ उनलाई । “राजा महेन्द्रको गीत संग्रह उसैका लागि रानी रत्नका लागि हो भन्ने धेरैको धारणा थियो,” लेखनशैलीका धनी उदय स्मरण गर्छन्, “तर, बुबाले राजदूतै रहेका बेला लेखिदिनुभयो, ‘ फर हिम अलोन ।’ राजाका लागि केको रानी ? आफूबाहेक कोही पनि छैन ।” 
पीएचडीपछि अर्थात् २८ आसपास घरजमको फुर्सद निकाले उदयले । त्यो पनि विश्वकै टप जर्नल फिजिकल रिभ्युले रिसर्च पेपर तुरुन्तै छापिने स्वीकृति पठाएको खुसीयालीमा । मैतीदेवीकी सरिता अर्याल उनकी धर्मपत्नी हुन् । छोरा अंशुल अमेरिकामा बायोमेडिकल र छोरी श्रेया जर्मनीमा न्युरो साइन्समा पीएचडी गर्दैछन् । उनीहरूको पनि पीएचडीपछि नै घरजम हुने छाँटकाँट छ ।  
त्रिविको अवकाशपछि रातो बंगला स्कुलमा क्लास लिने यी भौतिकशास्त्री निजी कार छाडेर प्राय: सिटी बसमा उभिएका, कोचिएका या टेम्पोमै झुन्डिएका भेटिन्छन् । पैदल हिँड्न अझ आनन्द लाग्छ उनलाई । युरोपेली, अमेरिकी प्राध्यापकहरू पनि यसै गरी हिँडेको देखेका छन् उनले । कसैले चिन्ला भनेर मास्कसास्क लगाउने टन्टा गर्दैनन् पनि । पिताकै सरल र अति सामान्य जीवनशैली पछ्याइरहेका छन् ।
बानेश्वर हाइटस्थित घरमा पिताको कूटनीतिक यात्रा झल्काउने केही सामग्री जतनले राखेका छन् । बैठक कोठामा भारत, चीन र अमेरिकाका राजदूत सम्हालेका पिताको पोर्टे्रट पनि छ । नैनीताल भ्रमणका बेला कोरिएको त्यसको पुछारमा तत्कालीन युवराज वीरेन्द्रको हस्ताक्षर छ । आफूलाई फोटोजेनिक मान्दैनन् उदय । कहिलेकाहीँ तस्बिर खिच्ने मौका पर्दा श्रीमतीको कति उज्यालो तस्बिर आउँछ, उनको कि झोक्राएजस्तो कि त रिसाएजस्तो । 
सबैभन्दा ठूलो कुरा अमेरिका पढेर नेपालमा विज्ञान गर्न आए उदय । “अमेरिकामै बसेको भए मेरा अध्ययन–अनुसन्धानको प्रचारप्रसार दसौँ गुना बढी हुन्थ्यो होला,” उनको आत्मसमीक्षा छ, “तर, मैले इच्छा हुने हो भने जहाँ बसेर पनि विज्ञानसम्बन्धी काम गर्न सकिन्छ भन्ने देखाएँ सायद ।” 
प्रकाशित: मंसिर ६, २०७३ (राजकुमार बानियाँ)

Post a Comment

0 Comments