Random Posts

contact for perofessional web development

आश्वासनमा होइन आइडियामा समृद्धि : महावीर पुन

महावीर पुन । जसले दूरदराजमा वायरलेस इन्टरनेट नेटवर्किङ पुर्‍याए । दुर्गम भेगका नेपालीलाई विश्वसँग जोडे । मान्छेले मान्छे हुन के गर्नुपर्छ ? यो जटिल प्रश्नको उत्तर कुनै दार्शनिकसँग पनि नहोला ! तर, आफूलाई आफैँलाई पूर्ण महसुस गर्न सायद रहरअनुसार बाँच्नुपर्छ । तर, त्यो रहरले अरूलाई पनि फाइदा पुगोस् । आफ्नो रहरका कारण अरूले पनि मुस्कुराउन पाऊन् ।

समस्या होइन, गन्तव्य ठूलो
मान्छे के चाहन्छ ? सायद अधिकांश मान्छेको चाहना सुख, भोगविलास हुन सक्छ । ती अधिकांशमा नपर्नेभित्र पर्छन्, रोमन म्यागासेसे अवार्ड विजेता महावीर पुन । ‘जोनाथन बी पोस्टल अवार्ड’समेत हात पारेका उनको हरेक सोचमा जोडिएर आउँछ– मलुकको समृद्धि । त्यही समृद्धि प्राप्तिका लागि उनी दिन–रात खटिइरहेका छन् । एउटा शब्दभित्र सारा मान्छेको सपना जोडिएको हुँदो रहेछ । महावीर पुन त्यही ‘समृद्धि’ प्राप्तिका लागि संघर्षको रिङभित्र छन् ।
०००
महावीरले काठमाडौंको ठमेलमा ‘नेपाल कनेक्सन’ रेस्टुरेन्ट सञ्चालन गरेका छन् । जहाँबाट आएको आम्दानीको शतप्रतिशत हिस्सा उनी दुर्गमका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्छन् । फोन गर्दै त्यहाँ पुग्दा उनी एकजना विदेशीसँग अन्तर्वार्तामा थिए । बस्न इशारा गरे । विदेशी हिँडेपछि कुराकानी सुरु भयो ।
भौगोलिक अवस्थिति सबैको लागि ठूलो चुनौती हो । अक्सर चुनौतीहरू सीधा र सरल बाटोमा पनि हुने गर्छन् । तर, इच्छाशक्तिको अगाडि ईश्वर पनि झुक्न बाध्य हुन्छ । असम्भव त मान्छेले नचाहेसम्म मात्रै हो भन्ने उदाहरण हुन्, महावीर । उनले म्याग्दीको दुर्गम गाउँमा इन्टरनेट पुर्‍याए । त्यो काम गर्नु कति जटिल थियो भन्ने प्रश्नमा भन्छन्, ‘भौगोलिक दूरी चुनौती त हो । तर, काम गरेरै छाड्छु भन्ने दृढताको अगाडि त्यसले छेक्दैन ।’ कुनै पनि काम गर्न मान्छेलाई केही न केही कुराले उत्प्रेरित गर्छ । तर, महावीरलाई उत्प्रेरित गर्ने कुरा केही छैन । भन्छन्, ‘कुनै पनि काम मैले गर्ने भनेको जनताको आवश्यकताको लागि हो ।’ संसारमा जटिल काम अरूका लागि बाँच्नु हो । अरूका लागि हाँस्नु हो । त्यसको लागि त्याग चाहिन्छ । हिम्मत र अठोट चाहिन्छ । यी सबै कुरा महावीर पुनसँग छन् । र, त आफ्नो रेस्टुरेन्टमा भएको सम्पूर्ण मुनाफा दुर्गमका बालबालिकाको स्वास्थ र शिक्षामा लगानी गर्छन् । स्वार्थैस्वार्थ बोकेर संसारमा तँछाडमछाँड गरिरहेका मान्छेहरूका बीच यो दुर्लभ सन्देश हो ।समाजसेवा चुनौतीपूर्ण कुरा हो । जीवन नै अर्पण गरेर समाजसेवा गर्दा झन् कति समस्या आउँछन् होला !
भन्छन्, ‘अरूले गरेको र सजिलो काममा हात हाल्नु के नयाँ भयो । काम त जुनसुकै पनि जटिल नै हुन्छन् ।’ भौगोलिक समस्या त छँदै छ त्यसमाथि आर्थिक समस्या पनि पर्खाल बनेर उभिन्छ । तर, उनी समस्यालाई समस्या होइन, समाधानका रूपमा लिन्छन् र त्यसैमा रमाउँछन् । ‘आर्थिक समस्या हुन्छन् । पैसा आफूसँग नभए पनि अरूसँग त हुन्छ नि ?,’ उनी उपाय सुझाउँदै भन्छन्, ‘राम्रो काम गर्दै जानुपर्‍यो । आर्थिक समस्या आफैँ हल हुँदै जान्छ ।’
उनको मान्यता छ, पुग्छु नै भनेर यात्रामा निस्किएका यात्रीका लागि अप्ठ्याराहरू ठूला कुरा होइनन् । बरु स्पस्ट गन्तव्य ठूलो कुरा हो । कुनै पनि काम गर्दा निरन्तरता दिनुपर्ने उनको ठहर छ । महावीर भन्छन्, ‘मान्छे असफल हुने भनेको निरन्तरता दिन नसकेर हो ।’
मान्छेका आ–आफ्ना उद्देश्य हुन्छन् । आफू मान्छे हुनुको औचित्य सोचाइअनुसार फरक पर्ने तर्क उनी गर्छन् । ‘कसैलाई मोज गरेर जिन्दगी बिताउन पाउँदा या धेरै पैसा कमाउन पाइयो भने जीवनको औचित्य पूरा भयो भन्ने लाग्ला,’ उनी थप्छन्, ‘कसैलाई समाजसेवा गर्न पाउँदा आनन्द लाग्ला । त्यो मान्छेको सोचाइअनुसार हुन्छ ।’
अरूलाई हेरेर संसार बुझिन्छ
जीवनमा दुःखी नहुने मान्छे सायदै होलान् । जीवनप्रति गुनासो नगर्ने मान्छे भेटिन गाह्रो पर्ला । यसको अपवाद हुन्, महावीर पुन । उनी जीवनमा त्यति धेरै दुःखी यो कारणले भएनन् कि दुःखहरूलाई उनले प्रेम गरे । उनका बुबाको मृत्यु चाँडै भयो र आमाको पनि । ‘यो त सबैलाई परेको र पर्ने कुरा भयो । त्यसकारण यी पारिवारिक कुरामा म वास्तै गर्दिनँ,’ उनी दार्शनिक लयमा भन्छन्, ‘दुःखी हुन नपर्नुको कारण संसार नै यस्तै छ । अनेकौँ किसिमको समस्या आइपर्छ । अरूलाई नपर्ने, मलाई मात्र पर्ने भन्ने कुरै हुँदैन ।’ उनी संसारमा आफूभन्दा बढी दुःख पाएका मान्छेहरू धेरै भएको देख्छन् । तुलनात्मक रूपमा उनले त्यस्ता घटना नभोगेको बताउँछन् ।
बचपनकै कुरा गर्ने हो भने, हरेकको आ–आफ्नो वातावरण हुन्छ । कोही बाटोमा जन्मिएर बाटोमै हुर्केका हुन्छन्, कोही गाउँमा दुःख गरेर हुर्केका नि हुन्छन् । हरेकको बचपनका आयामहरू फरक हुन्छन् । उनले पनि भेडा, गाईबस्तु चराउनुपथ्र्यो । खेतीकिसानी गर्नुपथ्र्यो । ‘त्यसलाई मैले दुःख भएको हिसाबले हेर्दिनँ । हामीले भन्दा दुःख पाएका बालबालिका संसारभरि छन्,’ उनी थप्छन्, ‘कमसेकम खरकै घर भए पनि घर त थियो । बिहान–बेलुका ढिँडो–पिठो खान त पाइन्थ्यो ।’
असीमितताको अर्को नाम सन्तुष्टि
मान्छेलाई काम गर्न केले प्रेरित गर्छ ? यसको उत्तर पनि मान्छेअनुसार फरक पाइएला । महावीर गाउँघरमा हुर्केका मान्छे । गाउँका उकाली–ओरालीमा हिँड्न सिकेका मान्छे । गाउँको अर्गानिक सुन्दरतामा रमाउन जानेका मान्छे । दुःखलाई नजिकबाट महसुस गरेका मान्छे । भन्छन्, ‘म गाउँमा नभएर सहरमा हुर्केको भए दुःख थाहा हुने थिएन । गाउँमै हुर्केकाले के गर्दा गाउँका लागि राम्रो हुन्छ भन्ने कुरा थाहा थियो र मैले गरेँ ।’ उनका लागि पुरस्कार तथा सम्मान कुनै ठूलो कुरा होइन । भन्छन्, ‘कसैलाई मैले गरेको काम मन प¥यो भनेर दिएको हो । दिएको सम्मानलाई नकार्ने कुरा हुँदैन, थाप्दियो बस्यो ।’ अहिलेसम्म आफूले गरेका कामममा सन्तुष्ट छैनन्, उनी । भन्छन्, ‘जति पनि काम गरेको छु, त्यसमा सन्तुष्ट नहुनुको कारण त्यसलाई राष्ट्रिय स्तरमा लग्न सकेको छैन ।’
अँध्यारोमा फुल्छ जीवन
राज्यले गर्न नसकेको काम एउटा मान्छेको व्यक्तिगत पहलमा बन्न सक्छ र ? यो प्रश्नको गतिलो उत्तर हुन्– महावीर पुन । जोसम्म राज्यको आँखा कहिल्यै पुगेन, तर राज्यको अवहेलनाका कारण उनको इच्छाशक्ति कहिल्यै डगमगाएन । यो कुरामा राज्य किन चुक्यो होला ? जिज्ञासामा उनी भन्छन्, ‘मलाई थाहा छैन, राज्य किन चुक्यो राज्यलाई नै सोध्नुपर्छ ।’
राज्यसँग हरेक नागरिकको अपेक्षा हुन्छ । तर, राज्यले ध्यान दिएन भने ? महावीर पुनजस्ताले हरेक पाइलामा ठेस स्विकार्नुपर्छ । पावरवाला चश्मा आँखाबाट उतार्दै उनी आक्रोश पोख्छन्, ‘विकासको काममा राज्य चुक्नु भनेको देश अँध्यारोतिर धकेलिनु हो । त्यो बुद्धि नभएर हो ।’ अनुसन्धान तथा विकास चाहिन्छ, त्यो नभइहुन्न भन्ने कुरा कुनै नेता, कर्मचारीको दिमागमा अहिलेसम्म नछिरेको उनको गुनासो छ ।
पैसा मान्छेलाई कति मात्रामा चाहिन्छ ? सायद, असीमितताको अर्को पनि नाम हो– पैसा । तर, महावीर पुन आर्थिक व्यवस्थापनका लागि कहिल्यै पैसाको वास्ता गर्दैनन् । भन्छन्, ‘कामको लागि पैसा त चाहिन्छ । तर, पैसा नहुँदा काम हुँदैन भन्ने छैन ।’ पैसा भन्ने कुरा कहीँकतैबाट आइरहन्छ र आउने नै छ भन्ने उनको विश्वास छ ।
अवसर आफैँ खोज्नुपर्छ
महावीरको एउटा सपना छ, देशमा भएका प्रतिभालाई देशमै रोक्ने, पलायन भएकालाई पनि फर्काउने र समृद्ध नेपालको निर्माण गर्ने । राज्यको बेवास्ताका बाबजुद पनि उनी कम्मर कसेर यसैमा लागिरहेका छन् । उनलाई लाग्छ– आर्थिक विकास त्यतिवेला मात्र हुन्छ, जब आइडिया भएका प्रतिभाहरूले काम थाल्छन् । उनकै परिकल्पनाको आविस्कार केन्द्रका लागि थुप्रै चन्दादाताले सहयोग गरिरहेका छन् । ‘पैसा भन्ने कुरा दोस्रो हो । पहिलो आइडिया हो,’ भन्छन्, ‘र, आइडिया हुँदा पैसाको कारणले काम अड्किँदैन ।’ अनुसन्धान र विकास नगर्ने, तर देशलाई समृद्ध बनाउँछु भन्ने नेताहरूको भनाइप्रति सहमत छैनन्, उनी । पहिले अनुसन्धान र त्यसपछि विकास नगर्ने हो भने देश समृद्ध हुन सक्दैन भन्ने उनको मान्यता छ । केही आक्रोशित हुँदै भन्छन्, ‘नमिलेकै कुरा यहाँ हो । जुन कुरा भएन भने देश समृद्ध हुँदैन भन्छु, उनीहरू हुन्छ भन्छन् ।’ देश समृद्ध हुनका लागि आर्थिक विकास गर्नुपर्ने देख्छन्, उनी । भन्छन्, ‘प्राकृतिक, सांस्कृतिक रूपमा हामी धनी छौँ भन्छौँ, तर धनी भएर खोइ त हामीलाई कसैले धनी भनेको ?’
देशलाई समृद्ध बनाउनका लागि आर्थिक विकासका काम गर्नुपर्छ र त्यसका लागि आविस्कार, अनुसन्धान हुनुपर्छ भन्ने उनको अडान छ । त्यसका लागि प्रतिभाशाली मान्छेलाई देशमा राख्नुपर्ने उनको धारणा छ । भन्छन्, ‘किनभने अरू देशका प्रतिभाशाली मान्छे आएर हाम्रो देशलाई विकास गर्दैनन् । आफ्नै देशको मान्छेबाट नै हाम्रो आर्थिक विकास हुन्छ ।’
प्रतिभा स्वदेशमै फक्रिनुपर्छ
यतिवेला उनी राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन गर्ने र देशको आर्थिक विकास गर्ने योजनामा छन् । प्रतिभाशाली व्यक्तिलाई देशभित्रै राखेर उनीहरूको आइडियाबाट देशको विकास गर्नुपर्छ भन्ने उनको योजना छ । भन्छन्, ‘आर्थिक विकास उनीहरूको आइडियाले हुन्छ । राज्यले दिने आश्वासनले होइन ।’ राज्यले केही पनि गरेको छैन । हरेक सरकार सत्ता टिकाउनमै व्यस्त छ । दिनदिनै प्रतिभाशाली मान्छेहरू पलायन भइरहेका छन् । ‘राज्यलाई सबै थाहा छ, तर हेर्दैन त के गर्ने ? तिनीहरूलाई कुट्न जाने ?,’ उनी प्रश्न गर्छन्, ‘हेर्दैन भनेर हामीले पनि नहेर्ने ? हामीबाट पनि सम्भव छ, विकास ।’
आविस्कार केन्द्रमा अहिले ३०÷३५ प्रतिभाशाली व्यक्तिले काम गरिरहेका छन् । ड्रोनलगायत विद्युतीय मेसिनहरूको आविस्कार भइरहेको छ । ड्रोनले हालै औषधि ढुवानी परीक्षणसमेत गरेको छ । यार्सागुम्बा खेतीका लागि पनि अनुसन्धान भइरहेको छ । यी प्रतिभालाई राज्यले नचिन्नु मुलुकका लागि ठूलो क्षति भएको उनको बुझाइ छ । राज्यले वास्ता नगर्दानगर्दै पनि ऊर्जाका साथ लाग्नुको कारण सोचाइ हो भन्छन्, उनी । ‘यत्रो दुःख गरिरहनुभएको छ’ भन्ने जिज्ञासामा उनी रोक्दै भन्छन्, ‘मैले दुःख गरेँ भन्दिनँ, जे सक्थेँ त्यही गरिरा’छु ।’ आफूलाई मन नलागेको काम गर्नुपरेको छ भने मात्रै त्यो दुःख हुने उनको भनाइ छ । ‘कसैले जबर्जस्ती काम गराइरहेको छ भने त्यसलाई दुःख भनिन्छ’ भन्ने उनको तर्क छ । भन्छन्, ‘मैले जे गरिरहेको छु, स्वेच्छाले गरिररहेको छु । त्यही भएर यो दुःख होइन ।’ स्वतन्त्र रूपले आफ्नो हिसाबले जीवनयापन गर्न नपाउनुचाहिँ दुःख हो भन्ने लाग्छ, उनलाई । अन्त्यमा भन्छन्, ‘आर्थिक विकासका लागि दिमाग चाहिन्छ । राज्यले दिमागलाई सम्मान गर्न सक्नुपर्छ।’
- nayapatrika

Post a Comment

0 Comments