पढाइमा कसरी उत्कृष्ट बन्ने ?

हामीहरूमध्ये धेरैले परीक्षा नजीक आउन थालेपछि मात्र तयारी तीव्र पार्छौं । अघिपछि जतिसुकै बेवास्ता गरेको भए पनि परीक्षा भनेपछि सबैको टाउको दुखाइ हुन्छ । सबैलाई पास हुनै छ, त्यसैले शुरू हुन्छ भागदौड । कहिल्यै नबोल्ने साथीसँग पनि नोट माग्न मन लाग्छ । शिक्षकले पनि एकचोटि अप्ठ्यारो लागेको पाठ दोहोर्‍याइदिए हुन्थ्यो झैं लाग्छ । कस्ता प्रश्न आउलान् ? प्रत्येक पाठ पढेपछि अनुमान गर्न मन लाग्छ ।
अरूसँग आफूलाई कहिल्यै तुलना गर्नु हुँदैन । पढेको कुरा कसरी बढीभन्दा बढी सम्झने, यो हाम्रो पढ्ने तरीकामा भर पर्छ । हामीकहाँ सजिला कुरालाई पनि अप्ठ्यारो बनाएर पढ्ने चलन छ । अप्ठ्यारा कुरा सजिलो बनाउन सक्नुपर्छ । हामी चाहन्छौं एकचपटक पढेकै भरमा सबै दिमागमा घुसोस्, तर त्यो सम्भव छैन । एकदमै थोरैमात्र मान्छे हुन्छन्, जसलाई एकपटक पढेकै भरमा सबै दिमागमा घुस्छ । प्रत्येक मान्छेको आआफ्नै क्षमता हुन्छ । केही सामान्य कुरामा ध्यान पुर्‍याइयो भने मात्र पनि राम्रो अङ्कमा उत्तीर्ण हुन सकिन्छ ।
समय व्यवस्थापन
कुुनै पनि कामका लागि समयको उचित व्यवस्थापन अति आवश्यक हुन्छ । झन् परीक्षाको तयारीका लागि त यसको बढी नै महत्त्व हुने गर्छ । त्यसका लागि कुन समयमा के पढ्ने, के गर्ने, कुन विषयलाई कति समय दिने भन्नेबारे उपयुक्त समयतालिका निर्माण गर्न सकिन्छ । समयतालिका निर्माण गरेर मात्र पुग्दैन । त्यसको पूर्णरूपले पालना गरेर अध्ययन गर्नुपर्छ । अध्ययन गर्दा सकेसम्म पढेका विषयवस्तुको नोट तयार गर्ने र दोहोर्‍याइरहने बानीले पढेका कुरा सजिलै याद हुन्छ । कुनै पनि विषय जति गाह्रो लाग्छ, त्यति नै त्यसलाई ध्यान र समय दिएर अध्ययन गर्नुपर्छ । त्यस्ता विषय वा पाठ दिनमा कम्तीमा पनि एकपटक पुनरवलोकन गनु राम्रो हुन्छ ।
संयुक्त अध्ययन
मेहनती र अध्ययनशील साथीहरूसँग मिलेर अध्ययन गर्दा धेरै फाइदा हुन्छ । यसरी पढ्नाले कठिन लाग्ने विषय वा पाठ पनि सजिलै बुझन् सकिन्छ । साथै, उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ । आफूले बिर्सेका कुरा सम्झन पनि यस्तो अध्ययन प्रभावकारी हुन्छ । संयुक्त अध्ययनमा छलफलको माध्यमबाट सिकिएका विषयवस्तुको पछिसम्म याद रहन्छ ।
दिनमा एकपटक (सकेसम्म बेलुकी) नजीकका साथीभाइ भेट्ने र आफूले दिनभरि पढेको विषयवस्तुबारे छलफल गनुपर्छ । भनिन्छ, ८० प्रतिशत ज्ञान मान्छेले आफूले जानेको कुरा अरूलाई बुझाएर प्राप्त गर्छ । यसो गर्दा पढेको कुरा बिर्सने सम्भावना अति कम हुन्छ । सकेसम्म विचार मिल्ने साथीहरूको समूह तयार गरेर पढ्नु उपयुक्त हुन्छ ।
पढेका कुरा लेख्ने
विद्यार्थीको सिकाइ स्तर र दिमागले ग्रहण गर्न सक्ने क्षमता फरक हुने गर्छ । कसैले कक्षामा शिक्षकले पढाउँदा नै बुझन सक्छन् र बिर्संदैनन्, कसैलाई धेरैपटक दोहोर्‍याउनुपर्ने हुन्छ । त्यस्तै, कसैलाई दुई–तीनपटक पढ्नुपर्ने र जानेको कुरा पनि छिट्टै बिर्सने समस्या हुन्छ । यदि यसो भएमा लामा–लामा परिभाषालार्ई सूत्रबद्ध गरेर याद गर्ने र नहेरेर लेख्ने बानी  बसाउनुपर्छ । यसकारण परीक्षामा लेख्दा सजिलै सम्झिन सकिन्छ । साथै, त्यस्ता विषयको बढीभन्दा बढी अभ्यास गर्ने बानी गरेमा धेरै पछिसम्म पनि सजिलै सम्झिन सकिन्छ ।
नोट बनाउने
आफूले पढेका सबै विषयको नोट कक्षाकोठामै बनाउँदा हुन्छ । तर, कक्षाको पढाइबाहेक परीक्षाको पूर्वतयारीमा आफूले अध्ययन गरेका विषयको पनि सङ्क्षिप्त नोट बनाउनुपर्छ । परीक्षा केन्द्रित अध्ययनमा यसले निकै सहयोग पुर्‍याउँछ । जुन विषय पढ्न शुरू गरिन्छ, त्यसका बुँदाहरू टिपोट गर्ने र  त्यसका लागि बोक्न सजिलो हुने सानो कापी वा डायरी प्रयोग गर्नुपर्छ, ता कि जतिबेला पनि पढ्न सकियोस् । परीक्षाका लागि समय कम हुने विद्यार्थीका लागि यस्तो विधि निकै लाभदायी हुन्छ । यसले गर्दा आफूलाई पढ्न पाइएन भन्ने तनाव कम हुन्छ भने समयको पनि सदुपयोग गर्न सकिन्छ । नोट बनाउने बानीले आफूले के पढेँ, कुन विषयको कुन पाठ पढेँ र कति पढ्न बाँकी छ भन्ने बोध पनि गराउँछ । मिल्नेजति कुरा आफ्नो अनुकूलको सूत्र, सर्ट फर्म वा कोड भाषामा ढालेर पढ्ने ।
एककोहोरो पढिरहनुभन्दा पनि पढेको कुरालाई किताब वा कापी छोपेर सम्झने प्रयास गर्ने वा लेख्ने प्रयास गर्ने । यसरी आफूले पढेको कुरा हामी हिँडिरहेका बेला, खाना खाने बेला वा ट्वाइलेट गएका बेला पनि सम्झिन सक्छौं । सम्झने प्रयास गर्दा कतै बिर्सिएजस्तो भयो भने तुरुन्त किताब वा कापी खोलेर हेर्ने ।
शिक्षकसँग छलफल गर्ने
शिक्षकसँग छलफल गरेर पढ्नुअघि आफूलाई दुविधा रहेको वा नबुझेको विषयमा प्रस्ट हुनु आवश्यक हुन्छ । आफूले नबुझेका वा प्रस्ट नभएका प्रश्नहरू कापीमा टिपेर राख्नुपर्छ । यसो गर्नाले सम्बन्धित विषय शिक्षक वा अग्रजहरूसँग सोध्न सजिलो हुन्छ । नबुझेका कुरा सोध्न सङ्कोच मान्नुहुँदैन । यस्तो बानीले सधैं पछि परिन्छ ।
पुराना प्रश्नपत्रको अभ्यास
परीक्षाको तयारी गर्दा पुराना प्रश्नपत्रको अभ्यास गर्नु पनि आवश्यक हुन्छ । कति समयमा कति प्रश्नको उत्तर लेख्न सकिन्छ भनेर पनि प्रयास गर्नुपर्छ । यसले परीक्षाको समयमा कुन प्रश्नलाई कति समय दिने भन्ने थाहा हुन्छ । यसरी गरेको तयारीको कापी परीक्षणका लागि विषय शिक्षक वा अग्रज विज्ञहरूलाई दिन सकिन्छ । त्यस्तो गर्दा के सुधार गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ । कमजोरी रहेमा सुधार गर्दै जानुपर्छ । यसो भएमा परीक्षाका प्रश्नहरूको संरचनामा अभ्यस्त भइने हुनाले परीक्षाको रहँदैन । ढुक्कसँग परीक्षा दिन सकिन्छ । त्यस्तै, ग्रीडको संरचना, प्रश्न सोधिने तरीका र कुन एकाइबाट कति नम्बरको कस्तो ढाँचाको प्रश्न आउँछ भन्ने जानकारी हुन्छ । यसले परीक्षामा उत्तर लेख्नका लागि समयको व्यवस्थापन गर्न सजिलो हुन्छ ।
  • अचेल हामी आफ्नो पाठ्यक्रमलाई आवश्यक पर्ने कतिपय सामग्री गूगलमा सर्च गरेर खोज्न सक्छौं । बिताबमा भएका कुरा तथा त्यससँग सम्बन्धित अन्य सामग्री पनि खोजेर पढ्नुपर्छ । यसबाट सम्बन्धित विषयमा अब्बल बन्न सकिन्छ । अति आवश्यक सूत्र छन् भने देखिनेगरी भित्तामा टाँस्ने । बारम्बार एउटै कुरा देख्दा त्यसको सम्झना भइरहन्छ ।
  • आफूले जे पढिरहेको छ, त्यही विषयबाट परीक्षामा प्रश्न आउँछ भन्ने विश्वाश लिएर पढ्ने । कतिपय विद्यार्थीले हरेक विषयवस्तु पढ्ने बेला ‘यसबाट त नआउला’ भन्दै लापरबाही गरेको पाइन्छ । यसो गर्दा परीक्षामा आफूले तयारी नगरेको प्रश्न आएमा उत्तर दिन गाह्रो हुन्छ । त्यसैले, सम्भावित सबैजसो विषयको अध्ययन गर्नु राम्रो हुन्छ ।
  • परीक्षाको तनाव लिएर रातभरि निद्रा माया मारेर पढ्ने बानी धेरैजसो विद्यार्थीको हुन्छ । शरीरलाई चाहिनेजति निद्रा पुगेन भने पढाइ झन् बिग्रन्छ । रातभरि पढिएको छ भने दिउँसो मज्जाले सुत्दा हुन्छ ।
  • पढ्दा निद्रा लाग्ने समस्या छ भने पेट अटेसमटेस हुनेगरी नखाने । बेलाबेलामा चिसो पानीले मुख धुने । चिया वा कफी पनि निद्रा भगाउने उपाय हुन सक्छ । तर, त्यसको प्रयोग गर्दा पनि विचार गर्नुपर्छ । धेरै मात्रामा चिया/कफी पिउनु पनि स्वास्थ्यका लागि राम्रो होइन । पढ्ने बेला मुखमा चकलेट वा चुइङ्गम हाल्ने हो भने त्यसले पनि निद्रा लाग्ने समस्यामा केही कमी ल्याउँछ । आखिर आफूलाई आवश्यक पर्ने निद्रा भने पुगेको हुनुपर्छ ।
  • दिमागमा घुसिरहेको छैन भने जबर्जस्ती नपढ्ने । त्योभन्दा राम्रो आफूलाई के गर्न मन लागिरहेको छ, पहिल्याउने अनि केही समय रिफ्रेशमेण्ट लिने । परीक्षा छ भन्दैमा जतिबेला पनि हातमा किताब लिएर बस्नुपर्छ भन्ने छैन ।
  • हाम्रो खराब बानी के छ भने हामी परीक्षामा मात्र पढ्छौं । यसले ठूलो भार पर्छ । शुरूदेखि नै थोरै थोरै पढ्दै जाने हो भने परीक्षाका बेला अनावश्यक दबाब हुँदैन ।
  • किताब हेर्दा आँखा दुख्यो भने आवाजसहित पढ्ने र मोबाइलमा रेकर्ड गर्ने अनि त्यसलाई बारम्बार सुनिरहने । यसरी तयार भएको अडियो बूक बाहिर हिँड्दा पनि सुन्दै हिँड्न सकिन्छ ।
  • हामी फेल हुन चाहँदैनौं । तनावको प्रमुख कारण पनि त्यही हो । एउटा परीक्षामा असफल हुँदैमा जिन्दगी सकिँदैन । कहिलेकाहीँ फेल भएर पनि धेरै कुरा सिकिन्छ । कम्तीमा पास हुनुको महत्त्व थाहा हुन्छ । त्यसैले, फेल भइएला कि भन्ने भय पालेर नपढौं ।

No comments

Powered by Blogger.